नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले केपी ओली सरकार भ्रष्टाचारविरोधी गतिविधिकै कारण एमालेप्रति आम जनताको माया र विश्वास बढ्को बताउनुभएको छ । एमाले सरकारको पालामा भ्रष्टचार नभएको बताउँदै सरकारले गरेको कामले एमालेप्रति जनताको विश्वास ह्वात्तै बढेको बताउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको अधिवेशनलाई सम्बोधन गर्दै थापाले एमाले नेतृत्वको सरकारले नेपालको नयाँ नक्सा जारी गरेको वृद्धभत्ता बढाएको र सुत्केरी हुन नसकेका महिलाको हेलिकप्टरमार्फत उद्धार गरेको जस्ता कामले जनताको विश्वास बढ्दै गएको बताउनुभयो ।

पूर्व महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री समेत रहनुभएकी स्थायी कमिटी सदस्य थापाले नेकपा एमालेले गरेका जनमुखी र लोकप्रिय कामका कारणले विपक्षीहरु अत्ताल्लिएर देशी, विदेशी र विरोधी शक्तिले एमालेको सरकार ढालेको आरोप लगाउनुभयो । उहाँले नेपाली जनताको माया र विश्वास एमालेलाई रहेकाले एमालेप्रति जनलहर बढ्दै गएको बताउँदै आगामी निर्वाचनबाट पुनः नेकपा एमालेले सरकारको नेतृत्व गर्ने दावी गर्नुभयो ।

‘अरु सरकारको पालामा भन्दा एमालेकै पालामा धेरै विकासका काम भएको छ,‘एमालेले एक्लै देशलाई लामो समयसम्म हाँक्ने गरी अवको निर्वाचनमा विजय प्राप्त गर्नेछ’ थापाले भन्नुभयो । एमाले सरकारको पालामा एक रुपैयाँ पनि भ्रष्टचार नभएको दाबी समेत गर्नुभयो । ‘केपी ओलीको सरकारले जनताको कामलाई ध्यान दियो, भ्रष्ट्रचारको गन्ध समेत आएन’ नेता थापाले भन्नुभयो ।

उहाँले पद लिने विषय ठूलो कुरा नभएकाले स–साना कमिटीमा बसेर जनताको मन जित्ने गरी काम गर्न उहाँले नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो ।  एमालेको लोकप्रिय सरकारको पालामा भएका काम र अधुरा कामलाई अबको निर्वाचनपछि बन्ने एमालेको सरकारले निरन्तरता दिने बताउनुभयो ।

‘गुट, फुट र अराजकताको अन्त्य गरौं, सबल सुदृढ र एकताबद्ध पार्टी निर्माण गरौं’ भन्ने मूल नारासहित सुरु भएको अधिवेशनमा जिल्लाभरबाट कुल ५ सय १० जना प्रतिनिधिहरु रहेका छन् । नवौं अधिवेशनले एमालेको जिल्ला कमिटी २८ जना महिलासहित ९० सदस्यीय निर्वाचित गर्नेछ ।

Leave a Reply