एमाले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नरदेवी पुनले केपी शर्मा ओलीको नेतृत्वको सरकारले देशैभर विकासको लहर ल्याएको दावी गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमालेका जिल्ला तथा केन्द्रियस्तरका नेताहरुले विकासको लहर रोक्न प्रतिक्रियाबादीले सरकार परिर्वतन गरेको बताउनुभयो ।

गण्डकी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री समेत रहनुभएकी पुनले आफू मन्त्री हुँदा म्याग्दी जिल्लामा थुप्रै बजेट र कार्यक्रम आएको भए पनि अहिलेको सरकारले छुट्याएको बजेट तथा कार्यक्रम पनि काटिदिएको आरोप लगाउनुभयो ।

उहाँले जनताको मन जित्ने गरी समुदायमा काम गरेर नेताका रुपमा स्थापित हुन नेता, कार्यकर्तालाई सुझाव दिनुभयो । एमाले बाहेकका सरकारले गरेको विकास निर्माणका कामभन्दा एमालेले साढे तीन वर्षमा गरेको समेत बताउनुभएको थियो।

सोही अवसरमा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले अहिले नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरिएको बताउँदै आउँदो चुनावबाट त्यो घेराबन्दीलाई तोडेर एमाले पुनः सत्तामा पुग्ने ठोकुवा गर्नुभयो । उहाँले एमाले जनताको पक्षमा काम गरेर स्थापित हुने पार्टी भएकाले विभिन्न जालझेलबाट सत्ता बाहिर बस्नुपरे पनि कुनै समस्या नभएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य पुष्कर विक, एमाले जिल्ला सचिवालय सदस्य एवं अखिल नेपाल महिला संघ म्याग्दीका अध्यक्ष थमसरा पुन, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल र नेकपा एमाले म्याग्दी–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष पदमलाल सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देवेन्द्रबहादुर केसीको स्वागत र सचिव बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व एमालेका नेता तथा कार्यकर्ताले नारा, जुलुस र बाजागाजाको ¥यालीसहित म्याग्दी सदरमुकाम बेनीबजारको परिक्रमा गरेका थिए ।

Leave a Reply