जिल्लाको पुरानो म्याग्दी क्याम्पसमा यसै शैक्षिक सत्रबाट शिक्षाशास्त्रतर्फ स्नातक तहमा हुने सूचना तथा प्रविधि शिक्षा (बीआईसीटीई) मा ३५ जना मात्रै भर्ना गरिने भएको छ । रोजगारीका लागि आर्कषक मानिएको बीआईसीटीईको पहिलो सेमेस्टरमा सिमित क्षमता भएकाले संख्या निर्धारण गरिएको क्याम्पसले जनाएको छ ।

सरकारी तथा गैरसरकारी संस्थामा कम्यूष्टर प्राविधिकको अभावलाई मध्यनजर गरी क्याम्पसले फागुन १ देखि कक्षा सञ्चालन गर्ने गरी विषयमा विद्यार्थी भर्ना लिन थालेको सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले जानकारी दिनुभयो । ‘विषयका बारेमा जानकारी लिन विद्यार्थी आउन थाल्नुभएको छ,‘प्राविधिक लाइनमा लाग्नेलाई यो सुनौलो अवसर हो’ सुबेदीले भन्नुभयो ।

कक्षा १२ मा न्यूनतम २.०१ ‘सि’ जिपिए प्राप्त गरी उत्र्तिणा भएका विद्यार्थीले उक्त विषयमा अध्ययन गर्न पाउने छन् । माघ १५ गते प्रवेश परीक्षा सञ्चालन गरी फागुन देखि नियमित कक्षा सञ्चालन गरिने छ । चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने भएकाले प्राविधिक क्षेत्रमा कार्यरत नभएको अवस्थामा पनि अध्ययनका लागि सहज भएको क्याम्पसले जनाएको छ।

जिल्लाका विद्यालयमा विज्ञान र कम्प्युटर विषय पढाउने शिक्षक अभाव भएपछि नगर÷गाउँपालिकाले विषयका जनशक्ति उत्पादन गर्न क्याम्पसलाई अग्रसरता लिन आग्रह गरेका थिए भने क्याम्पसले समेत उत्पादनमुखी क्षेत्रसँग शिक्षालाई जोड्ने प्रयास स्वरुप नयाँ विषयबस्तुलाई प्राथमिकता दिएको छ ।

बीआइटीई उत्र्तिणा भएका विद्यार्थीलाई सरकारी तथा गैरसरकारी संस्थामा आईटी अधिकारी, विद्यालयमा आइटी शिक्षक,सफ्टवेयर डेभलपर सहित सूचना र सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तीको क्षमता अभिबृद्धिमा समेत सघाउने क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताउनुभयो ।

३५ जनाको क्षमता रहेकाले अहिलेसम्म १० जनाले प्रवेश परीक्षाका लागि फारम लगेका छन भने १० जना सम्पर्कमा रहेको बताइएको छ। क्याम्पसमा यसबर्षदेखि विज्ञान विषयमा पनि कक्षा सुरु गर्न तयारी भइरहेको छ । क्याम्पसले १० जोड २ विस्थापित गरी शिक्षा र मानविकी संकायमा पनि स्नातकोत्तर (एमए÷एमएड) तह सञ्चालन तयारी थालेको छ ।

Leave a Reply