नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशनको आज (शनिबार) बिहानैदेखि सुरु भएको बन्दसत्र अहिले पनि जारीरहेको छ । बन्दसत्रमा पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठले पेश गर्नुभएको राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल भैरहेको छ ।

उक्त प्रतिवेदनउपर छलफल गर्न विभिन्न आठवटा समूहहरु बनाइएको छ । ती समूहमा छलफल भई टिपोट गरिएका विषयवस्तुहरु बुँदागत रुपमा टोली समूहका प्रमुखहरुले प्रस्तुत गरिरहेका छन् । टोली समूहका प्रमुखले बोलेर सकेपछि प्रतिवेदनमा उठाइएका विषयवस्तुमाथि पार्टी अध्यक्ष श्रेष्ठले आफ्नो धारणासहित जवाफ दिनुहुनेछ । त्यसपछि बन्दसत्रले प्रतिवेदन पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने एमाले म्याग्दीले जनाएको छ

एमालेको नवौं अधिवेशनको बन्दसत्र सञ्चालन गर्नका लागि एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री थममाया थापाको संयोजकत्वमा अध्यक्ष मण्डल गठन भएको छ । अध्यक्ष मण्डलको सदस्यहरुमा एमालेका नेताहरु भूपेन्द्रबहादुर थापा, नरदेवी पुन, नवराज शर्मा, खुमबहादुर बानियाँ, तर्कबहादुर केसी, हरिकृष्ण श्रेष्ठ, पुष्कर विक र सन्तोष रावल रहनुभएको छ । बन्दसत्रमा एमालेको छ वटा पालिका कमिटी, जिल्ला कमिटी र जनवर्गीय सङ्गठनबाट गरी विभिन्न आठवटा समूहले समूहगत रुपमा प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखेका थिए ।

एमालेको अधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरुलाई म्याग्दी सदरमुकाम बेनीका १४ ओटा होटलहरुमा व्यवस्थापन गरेर राखिएको छ । बेनीमा बस्दै आएका प्रतिनिधिबाहेक अन्यलाई होटलसँग छलफल गरी प्याकेजमा बसाई व्यवस्थापन मिलाइएको हो । उनीहरु सबैलाई बेनीमा सञ्चालनमा रहेका मध्यमस्तरीय होटलहरुमा व्यवस्थापन गरिएको छ ।

‘गुट, फुट र अराजकताको अन्त्य गरौं, सबल, सुदृढ र एकताबद्ध पार्टी निर्माण गरौं’ भन्ने मूल नारासहित हिँजो (शुक्रवार)देखि सदरमुकाम बेनीमा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन सुरु भएको हो । अधिवेशनले एमाले म्याग्दीको नयाँ नेतृत्व चयन गर्नेछ । अहिले बन्दसत्र चलिरहेको छ भने प्रतिवेदन पारितपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने एमाले म्याग्दीले जनाएको छ ।

Leave a Reply