नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयन गर्नका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । अहिलेसम्म धवलागिरि गाउँपालिका, मंगला र अन्नपूर्ण तथा मजदुरतर्फ उम्मेदवारी दर्ता सुरु भएको एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन जिल्ला निर्वाचन कमिटीले जनाएको छ ।

अहिले तीनवटा पालिका र मजदुर सङ्गठनबाट सर्वसम्मत रुपमा जिल्ला कमिटीमा आउनका लागि चयन भएका उम्मेदवारहरुको उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढाइएको प्रमुख निर्वाचन अधिकृत विवेक क्षत्रीले बताउनुभयो । एमाले म्याग्दीको ९० सदस्यीय नेतृत्व चयनका लागि पदाधिकारी ५, भूगोल ३१, दलित ७, मजदुर २, मुस्लिम १, जनजाति १३, खुला ३०, अन्यतर्फ १ जना निर्वाचित हुनेछन् ।

यसैगरी बेनी नगरपालिका, मालिका र रघुगंगा गाउँपालिकाको भने जिल्लामा प्रतिनिधित्व गर्ने सदस्यहरु टुङ्ग्याउनका लागि ती पालिका कमिटीले आन्तरिक छलफल गरिरहेका छन् । त्यस्तै पार्टीको नेतृत्व र पदाधिकारी चयन गर्न आकांक्षीहरुको बीचमा छलफल भैरहेको हुँदा त्यो सकारात्मक ढङ्गले अगाडि बढेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं अधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका सदस्य भूपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । आज आइतबार एमालेको नयाँ नेतृत्व चयन सम्पन्न गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

हिँजो (शनिबार) बन्दसत्रको हलले पार्टीको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले पेश गर्नुभएको राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरी संशोधनसहित पारित भएको छ । अध्यक्ष श्रेष्ठले नवौं जिल्ला अधिवेशनको बन्दसत्रमा २८ पेज लामो प्रतिवेदन गर्नुभएको थियो । एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनका लागि सल्लाहकार परिषद, जिल्ला तथा पालिका कमिटी, वडा र जनवर्गीय सङ्गठनबाट गरी कुल ५ सय १० जना प्रतिनिधिहरु सहभागी छन् ।

Leave a Reply