नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र कटुवाल निर्वाचित हुनुभएको छ । शुक्रबार देखि म्याग्दी सदसमुकाम बेनीमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट कटुवाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।रघुगंगा गाउँपालिका २ राखु निबासी नेता कटुवाल एमाले म्याग्दीको यस अघिको जिल्ला कमिटिमा उपाध्यक्ष पदमा हुनुहुन्थ्यो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख समेत रहनुभएका कटुवाल एमालेको पाका र बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ ।

अध्यक्षमा आकांक्षी देखिनु भएका पार्टीका जिल्ला कमिटि सचिव बालकृष्ण सुवेदीले अध्यक्षमा कटुवाललाई नै समर्थन गरेपछि अध्यक्षमा सर्वसम्मत रुपमा कटुवाल चयन हुनुभएको हो । जिल्ला कमिटिको उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी, र उपसिचवमा थपसरा पुन र राजकुमार थापा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

गुट फुट र अराजकताको अन्त्य गरौँ,सवल, सुदृढ र एकतावद्ध पार्टी निर्माण गरौँ भन्ने मूल नारा सहित आयोजित नवौँ जिल्ला अधिवेशनमा शनिबार देखि सुरु भएको बन्द सत्रमा सहमतिबाटै ९० सदस्यीय नेतृत्व चयनका लागि पदाधिकारी ५, भूगोल ३१, दलित ७, मजदुर २, मुस्लिम १, जनजाति १३, खुला ३०, अन्यतर्फ १ जना समेत सर्वसम्मतिले चयन गरिएको छ। अधिवेशनका लागि सल्लाहकार परिषद, जिल्ला तथा पालिका कमिटी, वडा र जनवर्गीय सङ्गठनबाट गरी कुल ५ सय १० जना प्रतिनिधिहरु सहभागी थिए ।

नवनिर्वाचित अध्यक्ष कटुवालले पार्टीको संगठन विस्तार सहितका अभियानमा थप प्रभावकारी ढंगले अगाडी बढ्ने बताउनुभयो उहाँले पार्टीको लोकप्रियतालाई कायम राखिने समेत प्रतिबद्धता जनाउनुभएको छ । शिक्षण पेशाबाट राजनीतिमा होमिनुभएका अध्यक्ष कटुवाल भगवतीको वडा अध्यक्ष हुदै जिल्लाको राजनीतिमा सक्रिय हुनुभएको थियो ।

 

Leave a Reply