बेनी नगरपालिका-४,सिङ्गा(रादिकुलो) की सोनी थापा चरम गरिबीसँग जुधेर भएपनि पढाइमा अब्बल छिन्। स्थानीय धौलागिरी माविमा कक्षा ६ मा अध्ययनरत थापा परीक्षमा उच्च अंकका साथ विद्यालयमै सर्वोत्कृष्ट घोषित भईन् । १२ वर्षीया सोनी कक्षा एकदेखि प्रथम हुँदै आएकी छिन् । यसबर्षको प्रथम त्रैमासिक परीक्षामा उनले ३.५जिपिए ल्याएर पुरस्कृत समेत भएकी छन् ।

विद्यालय भर्ना भएको पहिलोबर्ष देखि नै कक्षामा सधैँ प्रथम भएर आफूलाई पढाइमा अब्बल दर्जामा उभ्याएकी छिन् । जेहन्दार, अध्ययनशील र अनुशासित थापाको घरमा पढ्ने उचित वातावरण नै छैन् । कक्षामा प्रथम हुन प्रतिस्पर्धा गर्ने साथीहरूको शिक्षाका लागि राम्रो वातावरण घरदेखि भएपछि पनि थापाको घरमा सुकुम्बासी जीवन विताइरहेका आमा–बुबाको नियमित कमाई नहुदाँ विहान बेलुकी चुल्हो बोल्दैन् ।

दैनिकजसो बुबाले जाँडरक्सीले मातेर झगडा गर्ने,आमाले मजदुरी गरी कमाई गरेको पैसा समेत बुबाले खोसेर रक्सीमा उडाउने गरेका छन् । सम्पत्तीको नाममा एक टुक्रा जमिन समेत नभएकाले प्रयोगबिहिन अवस्थामा रहेको पुरानो एकतले ढुंगाको घरमा बस्छन् । त्यही घर पनि झरी पर्दा चुहिएर विजोग हुन्छ । कठ्याङ्ग्रिने जाडोमा बिहान–बेलुकी बाहिर बसेर पढ्ने गरेकी थापाको दैनिकी शब्दमा ब्याख्या गर्न सकिने अवस्था छैन।

दुईछाक पेटभरी खान नपाउने,विद्यालय जाने कपीकलम,पोशाककोअभावले छटपटिएकी सोनीले आफुँ विद्यालयबाट प्राप्त पुरस्कार,सहयोगबाटै अध्ययनलाई निरन्तरता दिएको सोनीकी आमा पूर्णकली थापामगरले बताईन्।‘श्रीमानलाई रक्सी बाहेक केही चाहिदैन्,‘मैले कमाउन नसक्दा भोकभोकै सुत्छौ’पुर्णकलीले भनिन् । उनले गरिबीकै कारण ३ छोरीले बिचमै पढाई छोडेर बिबाह गरेको र एक छोरालाई मुस्ताङमा निशुल्क पढ्ने ब्यवस्था मिलाइदिएकाले सहज भएको बताईन् ।

‘एउटा छोरीलाई स्कुलमा लाग्ने खर्च जुटाउन समेत सकेको छैन्,‘पढाई राम्रो भएकाले धेरै चिन्ता लाग्छ’उनले भाबुक हुदै भनिन् ।उनले तीन छोरीले आर्थिक अभाव र गरिबीकै कारण विद्यालय तहमै पढाइ छोडेको बताइन्।‘अरू छोरीले सात कक्षाभन्दा माथि पढ्न सकेनन’उनले भनिन् ।

कान्छी छोरीलाई उच्च शिक्षासम्मको पढाईका लागि उनले सहयोगको याचना समेत गरिन् । यता विद्यालयका शिक्षक खोमनाथ पौडेलले पढ्ने वातावरण पाएपछि पढाइ अझै राम्रो हुँदै जाने बताए ।

बिदाको दिनमा पनि धेरै समय पठनपाठनमै ध्यान दिने गरेको पाइएकाले अतिरिक्त कक्षा सहित उपयुक्त रेखदेख भएमा मावि तहमा जिल्लामै राम्रो नतिजा ल्याउन सक्ने शिक्षक पौडेलको भनाई छ । शिक्षक पौडेलकै पहलमा बेनीस्थित लोकदिप बचत तथा ऋण सहकारी संस्थाले पोशाक, न्यानो कपडा र झोला सहयोग गरेको थियो । छिमेकी एवम् धौलागिरी मावि ब्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काले बालिका विद्यालयकै नमुना विद्यार्थी भएको बताए।

‘अभावै–अभाव भएपनि सधै विद्यालयमा जान्छिन्,‘आमाबुबा बीचको झगडा र मनमुटावले समेत समस्या भइरहेको छ’खड्काले भने ।उनले विद्यालय समय बाहेक समय–तालिका बनाएर अध्ययन गर्ने सोनीको मेहनतबाट दंग परेको बताए। गरिबको घरबाट जन्मिएको डाक्टर भएको हेर्ने चाहना रहेकाले सहयोग अभियान सञ्चालन गर्नुपर्ने बताए ।

गरिबी र घरायसी अवस्थाका कारण बालिकाको शिक्षादिक्षामा गम्भीर असर गरेकाले उनलाई गरेको सहयोग खेर नजाने बताए । हेरचाह, पालनपोषण र शिक्षामा सरोकारवाला निकायबाट सहयोगको अपेक्षा गरिएको छ । स्थानीय यूवा नेता समेत रहेका खड्काको पहलमा छोरालाई मुस्ताङको प्राविधिक शिक्षालयमा निशुल्क पढ्ने ब्यवस्था मिलाइएको छ । जाडो महिना गतिलो कपडा, राति ओढ्ने÷अच्छ्याउने समेत नहुँदा समस्या छ ।

 

Leave a Reply