ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिमसँगै म्याग्दीमा फेरी ‘तपाईको मास्क खोई’ अभियान सुरू गरिने भएको छ ।  मंगलबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले मास्क नलगाएर हिड्ने मास्क वितरण सहित अनिवार्य मास्क लगाउन सचेतनामुलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्थानीय तह, सरोकारवाला निकाय सहित सुरक्षा निकायले समेत मास्क लगाउन गरिएको अपिललाई सर्वसाधारणले बेवास्ता गरेमा आवश्यक कारवाही समेत गरिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताउनुभयो । विद्यालयका विद्यार्थीमार्फत समुदायस्तरमा समेत मास्कको महत्वका बारेमा जानकारी गराइने छ । सबैलाई अनिवार्य रुपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले विभिन्न संघसंस्थासँग समन्वय समेत गरिने बताउनुभयो ।

अभियानमा मास्क नभएकालाई निःशुल्क वितरण गर्ने तथा बिना मास्क हिँडडुल गर्नेलाई पहिलोपटक सचेत गराउने, दोस्रोपटक समेत अटेर गरेमा सय रुपैयाँ जरिवाना तिराउने समेत बताइएको छ । त्यस्तै सञ्चारमाध्यमबाट सचेतनामूलक सन्देश सुनाउने र भिड हुने ठाउँमा माईकिङ समेत गरिने छ । आमनागरिक अनुशासित भएमा रोकथाम तथा नियन्त्रणमा भूमिका खेल्न समेत अपिल गरिएको छ ।

मास्क लगाउन अटेर गर्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रमक रोग सम्बन्धी नियम उल्लंघन गरेको भन्दै १ सय रुपैयाँ वा एक महिना कैद वा दुबै सजाय हुने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पु¥याए ६ सय रुपैया जरिवाना वा ६ महिना कैद वा दुबै सजाय हुनसक्ने व्यवस्था छ ।

यसअगाडी दोस्रो चरणको कोरोना अभियानमा म्याग्दीमा ठूलो संख्यामा जरिवान सहित मास्क नलगाएकालाई सार्वजनिक स्थानमा होल्ड समेत गरिएको थियो । बेनी अस्पतालका निमित्त मेसु डा. देवान कार्कीले मास्को प्रयोगबाट पनि कोरोना संक्रमणको जोखिम कम गर्न सकिने बताउनुभयो । उहाँले मास्क अनिवार्य प्रयोग गर्ने, सावुनपानीले हातमुख धुने जस्ता गतिविधिलाई ध्यान दिन समेत अनुरोध गर्नुभएको छ । फाईल तस्वीर 

Leave a Reply