---Advertisement---

धवलागिरी र रघुगंगामा कोरोनाको खोप नलगाउनेलाई सेबाबाट बन्चित बनाइने

On: January 11, 2022 7:01 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिकाले कोरोना बिरुद्धको खोप लगाउन अटेर गर्नेलाई सामाजिक सुरक्षा भत्ता र उपभोक्ता समितिमा बस्न नदिने भएको छ ।

निशुल्क खोप अभियानलाई समेत अविश्वास गर्ने, खोप बारेमा बुझाउन सञ्चालित सचेतनामुलक कार्यक्रमबाट समेत खोप लगाउन चासो नदिनेलाई गाउँपालिकाले थप अन्य सेवासुविधा समेत रोक्न सक्ने गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो ।

‘खोप नलगाएकालाई उपभोक्ता समितिमा बसेर काम गर्न पनि नदिने निर्णय भएको छ,‘अब पनि खोप लगाउन नचाहनेहरूलाई बाध्य बनाउँछौ’ अध्यक्ष पुन मगरले भन्नुभयो ।

गाँउपालिकाले प्राथमिकतापूर्वक अभियान चलाइरहे पनि अन्धविश्वास, खोप बारे गलत सूचना, अचेतनाका कारण कोभिड–१९ विरुद्धको खोप लगाउन नगएपछि यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

यता रघुगंगा गाउँपालिकाले समेत खोप नलगाएकालाई वडास्तरमै खोप अभियान सञ्चालन गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले खोप कार्ड नभएकालाई गाउँपालिकाले सेवा प्रवाहमा कडाई गर्ने बताउनुभयो ।

‘गाउँपालिकाको सबै किसिमको सेवा रोक्छौ,‘खोप नलगाउनेहरूबाटै कोरोना संक्रमणको जोखिम बढेको छ’ अध्यक्ष भण्डारीले भन्नुभयो ।

गाउँपालिकाले सूचनामार्फत खोप नलगाएकालाई सम्पर्कमा आउन र पहिलो डोज लगाएर दोस्रो नलगाएकालाई समेत तत्काल लगाउन समेत अनुरोध गरेको छ । खोप लगाउन अटेर गर्नेहरुलाई वडास्तरबाट प्रदान गरिने सेवा समेत रोक्न आवश्यक पत्रचार गरिने छ ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०को बैठकमा जिल्लाभित्र खोप भएपनि स्थानीय तहमा अझै खोप लगाउन समेत इच्छुक नहुनेको संख्या रहेकाले खोप लगाउन बाध्य बनाउनुपर्ने सरोकारवाला निकायको जोड थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जिल्लाभित्र अझै २ हजार डोज जोनसोन एन्ड जोनसोन खोप रहेको बताइएको छ। जिल्लाभित्र स्थानीय तहले खोप अभियान सञ्चालन गरेमा ब्यवस्थापन गर्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

बेनी अस्पतालका डा।देवान कार्कीले कोरोना विरुद्ध खोप लगाइसकेपछि शरीरमा उक्त भाइरस विरुद्ध लड्ने क्षमताको विकास हुने भएकाले अनिवार्य खोप अभियान नै कोरोना संक्रमणबाट जोगिन सकिने बताउनुभयो ।

खोप लगाएपछि आफुँ, परिवार र समुदाय नै भाइरस सङ्क्रमणबाट जोगिने भएकाले खोप लगाउन बाध्य बनाउने नितिको आवश्यकता रहेको डा। कार्कीको भनाई छ ।

म्याग्दीमा हालसम्मको तथ्याङ्कले म्याग्दीमा हालसम्म कोरोना खोपको पहिलो डोज ६८ हजार जना, दोस्रो ५८ हजार र १८ बर्ष मुनिका ११ हजार ३७६ जनाले खोप लगाएको देखिन्छ । स्थानीय तहबाट आधिकारिक तथ्याङ्क आउन बाँकी रहेकोमा पहिलो खोप लगाएर सम्पर्कमा नआउनेहरु नै चुनौतीको रुपमा देखिएको छ ।

प्रारम्भीक तथ्याङ्कमा ५।९ प्रतिशत अझै खोपको पहुँचमा छैनन् । जिल्लाका सबै स्थानीय तहले अब खोपको पहुँचमा नभएकालाई ल्याउने र मास्क सहित सचेतनामुलक कार्यत्रलमलाई प्राथमिकता दिने जनाएको छ ।