कलिलै उमेरमा हुने बालविवाह रोक्नका लागि म्याग्दीको ग्रामीण भेगमा सचेतनामूलक अभियान सञ्चालन भएको छ । विद्यालय उमेर समूहबाटै हुने बालविवाह रोक्नका लागि बालबालिकाहरूलाई लक्षित गरेर समुदाय स्तरमा सचेतनामूलक अभियान सञ्चालन गरिएको हो । अशिक्षा, गरिबी र चेतनाको अभावमा हुने बालविवाहलाई रोक्न म्याग्दीको खास गरी दुर्गम तथा विकट क्षेत्रमा अभियान सञ्चालन गरिएको सङ्गम म्याग्दीले जनाएको छ ।
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको समन्वय, गल्र्स फस्ट फन्डको आर्थिक सहयोग र सङ्गम म्याग्दीको आयोजनामा बालविवाह रोक्न सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । धवलागिरि गाउँपालिकाको विभिन्न वडामा पुगेर समुदास्तरमा अभिभावक र तिनका बालबालिकाहरूलाई लक्षित गरी विद्यालय उमेर समूहमा नै हुने बालविवाह रोक्न कार्यक्रम सञ्चालन गरिएको सङ्गम म्याग्दीका अध्यक्ष दीपक पौडेलले बताउनुभयो ।
समुदाय स्तरमा हुने बालविवाहको न्यूनीकरण गर्न तथा त्यसको विरुद्धमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । सन् २०१९ देखि धवलागिरिको २, ३, ४ र ७ नम्बर वडामा गल्र्स फस्ट फन्डको सहयोगमा सङ्गम म्याग्दीमार्फत समुदायमा बालविवाह न्युनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम लागू हुनुभन्दा १० वर्ष अगाडिको समयमा बालविवाह गरेका किशोरीहरूलाई समावेश गरी आयआर्जनमा समेत सघाइएको छ । धवलागिरिको ४ वटा वडामा १४ वटा आयआर्जन समूह, ८ वटा बालविवाह प्रतिकार समूह र ११ वटा विद्यालयमा किशोरी समूह गठन गरी समुदाय स्तरमा बालविवाह विरुद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै आयआर्जनसम्बन्धी विभिन्न सिपमूलक कार्यक्रमहरू पनि सञ्चालन गरिएको छ ।
सानैमा विवाह गरेका किशोरीहरूलाई समेटेर उद्यमी समूह गठन गरिएको छ भने समूहमार्फत सामूहिक जमानीमा घुम्ती कोष परिचालन गरिएको जनाइएको छ । उनीहरूलाई बिउँ पुँजीस्वरुप कार्यक्रमको सहयोगमा प्रति समूह ४८ देखि ५० हजार रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराइएको सङ्गम म्याग्दीका अध्यक्ष पौडेलले बताउनुभयो । उद्यमी समूहले प्राप्त अनुदान रकमलाई सामूहिक जमानीको आधारमा घुम्ती कोषमार्फत परिचालन गरी व्यावसायिकमूलक कुखुरापालन, सिलाइकटाई तथा बाख्रा पालन व्यवसाय तथा सिपमूलक क्षेत्रमा लगानी गरेका छन् । सानै उमेरमा विवाह गर्दा पढाइबाट वञ्चित हुनुपरेको, श्रीमान् र श्रीमतीले एक अर्कालाई बुझ्न नसक्दा पारिवारिक समस्या हुने गरेको भए पनि अहिले समूहमार्फत आयआर्जनका क्षेत्रमा आबद्ध हुनुका साथै बालविवाहको विरुद्ध समुदायमा सचेतना फैलाउने अभियानमा आफूहरू लागेको मुनाकी पूर्णकला पुनले अनुभव सुनाउनुभयो ।
समुदाय स्तरमा हुने बालविवाह न्यूनीकरण गर्न तथा अभिभावक र बालबालिकालाई सचेत बनाउनका लागि पालिकामार्फत ‘उपाध्यक्षसँग उमेर सान्दर्भिक विवाह’ कार्यक्रम सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । कार्यक्रम लागू भएका वडाहरूमा १० वर्षको अवधिमा उमेर नपुगी विवाह गर्ने किशोरीहरूको सङ्ख्या ४ सय ६३ जना रहेको तथ्याङ्क सङ्कलन गरिएको सङ्गम म्याग्दीका कार्यक्रम संयोजक खिमा पुर्जाले जानकारी दिनुभयो । बालविवाह न्यूनीकरण गर्नका लागि समुदाय स्तरमा पुगेर सडक नाटक समेत प्रदर्शन गरिएको छ । धवलागिरि गाउँपालिको लुलाङ, मुना, मुदी, ताकम र बेनी नगरपालिकाको बेनी सामुदायिक माध्यमिक विद्यालयमा बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत ‘काइँली आमा’ नामक नाटक देखाइएको थियो ।

Leave a Reply