म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ३८ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले अहिलेसम्म उक्त प्रगति भएको हो ।

नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत सेयर लगानीमा वि.सं २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग वि.सं २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सुरुङ, विद्युतगृह र पावर हाउस निर्माणको काम गरिरहेको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख राजबहादुर विष्टले कमजोर भूबनोटका कारण सुरुङ निर्माणमा अपेक्षाकृत प्रगति नभएको भनाइ छ । कुल ६ किलोमिटर २०० मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार दुई सय मिटरमात्रै सुरुङ निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएर ३ सय ३० मिटर गहिरो प्रेसर साफ्ट निर्माण भएको छ ।

सिभिल ठेकेदारले चार ठाउँबाट मुख्य सुरुङ र दुई ठाउँबाट प्रेसर साफ्ट सुरुङ खन्ने काम गरिररहेको छ । सुरुङ, विद्युतगृह र ड्यामसाइट निर्माणतर्फ अहिले ४ सय ५० जना जनशक्ति परिचालन भएको आयोजनाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा वि.सं २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको जेपीले २०७५ असारमा पहुँचमार्ग निर्माण गरी २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

पावर हाउसदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुलनिर्माण गरेको छ भने राहुघाटबाट उत्पादन हुने विद्युत केन्द्रीय ग्रिडमा जोड्न कालिगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा जोड्न लुपइनलुप आउटको चार वटा टावरसमेत तयार पारिसकेको छ ।

अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । अहिले सिभिल ठेकेदारले मात्रै काम गरिरहेकोमा यसै सातादेखि इलेक्ट्रोमेकानिकल ठेकेदार भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले समेत कार्यक्षेत्रमा काम सुरु गरेको रघुगंगा आइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए ।

२०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता भए पनि सम्झौता भएको दुई वर्षपछि मात्रै ठेकेदार कम्पनी कार्यक्षेत्रमा परिचालन भएको हो । विद्युतगृहमा सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समेत समन्वय गरेर पूर्वाधार निर्माणलाई तीव्रता दिने कम्पनी प्रबन्ध सञ्चालक केसीले बताए । ३६ महिनाको अवधि रहेको इलेक्ट्रोमेकानिकल ठेक्काको समय अब एक वर्षमात्रै बाँकी छ । सिभिल ठेकेदारको ४५ महिनाको म्याद सकिएपछि प्राकृतिक विपद र कोरोना (भाइरस) को महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरिएको छ ।

राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्दा रघुगंगा गाउँपालिका–३ पिप्लेको साजा क्षेत्रमा रहेका अधिकाँश घर चर्किएका छन् । हरेक दिन सुरुङभित्र गरिने विष्फोटको कम्पनले घरहरू चर्किने क्रम बढे पनि आयोजनाले उचित ध्यान नदिएको स्थानीयबासीको गुनासो छ । घरहरू चर्किएर बस्न नमिल्ने अवस्थामा पुग्दासमेत पुनः निर्माणका लागि न्यून मात्रामा रकम दिने भएकाले स्थानीयबासी समस्यामा परेको स्थानीय नारायण सुवेदीले बताए ।

उनका अनुसार, अहिले आयोजनाबाट घर चर्किएर भत्कने अवस्थामा पुगेका घरधनीलाई अस्थायी आवास निर्माण गर्न एक लाख ७५ हजारमात्रै रकम दिने रउक्त रकम अपुग हुने भएकाले स्थानीयबासीले चर्किएकै घरमा जोखिम मोलेर बस्नुपरेको छ । पिप्लेमा मात्रै १५ बढी घर चर्किएका छन् । स्थानीयबासीले चर्किएका घरधनीलाई राहत, सडक र पदमार्ग व्यवस्थापनमा आयोजना र निर्माण कम्पनीले बेवास्ता गर्ने गरेको गुनासोसमेत गरेका छन् । Source: karobardaily.com

Leave a Reply