म्याग्दीको बेनी नगरपालिकाको दशौँ नगरसभा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । नगरसभाले थप ८० लाख बजेट विनियोजन गर्नुका साथै गत असारमा बजेट बिनियोजन भएका केही योजना तथा कार्यक्रमहरुको बजेट शिर्षकान्तर र रकमान्तर गरेको छ।

नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभाले नगरभित्रका १० वटा वडालाई ८ लाखका दरले ८० लाख थप बजेट विनियोजन गरेको हो । बेनी बजारको बैकल्पिक रिङरोडलाई ग्राबेल गर्ने, तटबन्ध, नाली निर्माण लगायत योजनामा बजेट विनियोजन गरिएको छ । नगरसभाले गत असारमा बजेट विनियोजन गरेको १२ वटा योजनाका शिर्षकान्तर र रकमान्तर गरेको छ ।

नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले ‘कृषी पर्यटन र पुर्वधार, स्वच्छ समृद्ध बेनी नगरको मुल आधार’मा रहेर विभिन्न स्रोत र साधानको अधिनमा रहेको काम गरेको बताउनुभयो । ‘नगरको लक्ष्य प्राप्तीमा अझै पुग्न सकेका छैनौ,‘हामीले सुरुवाती चरणका केही योजनाहरुमा सरोकारवाला निकायको साथ पनि पाउन सकेनौं’ मेयर श्रेष्ठले भन्नुभयो । उहाँले हालै नयाँ भेरियन्टको रुपमा देखा परेको ओमिक्रोन भाइरसबाट नगरपालिका पर्नसक्नेअसरको नियन्त्रणका आवश्यक तयारी गरिएको बताउनुभयो ।

नगरसभापमा उपप्रमुख सन्जु बरुवालले पेश गरेको आर्थिक बर्ष २०७८÷०७९ को संशोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदनमा पौष २५ गते सम्म आन्तरिक आर्यतर्फ ४ करोड १२ लाख आम्दानीको प्रक्षेपण गरिएकोमा १ करोड ६९ लाख २९ हजार ८४५ रुपैयाँ संकलन भएको जनाईएको छ । कुल अनुमानको ४१.०९ प्रतिशत आन्तरिक आर्य उठाईसकीएको र बिगतमा बक्यौता रकम असुल उपरका लागि आवश्यक पहल गरिएको उपप्रमुख बरुवालले बताउनुभयो ।

प्रगति प्रतिवेदनमा चालु आ व.को कुल बजेटमा चालु तर्फ १६ करोड ८५ लाख ४ हजार ६ सय १० रुपैयाँ र पुँजिगत तर्फ २ करोड ९५ लाख ३५ हजार ५ सय ३९ रुपैयाँ बजेट खर्च भएको छ । जसको चालुगत तर्फ ३७.५८ र पुँजीगत तर्फ १२.४८ प्रतिशत प्रगती भएको देखाईएको छ । चालु आर्थिक बर्ष छनौट भएका ४७० योजना मध्ये हाल सम्म ३० वटा योजना सम्मन्न भएका छन् भने ४३ वटा योजना सम्झौता सम्पन्न भएका छन् ।

 

Leave a Reply