व्यवसायिक प्याराग्लाडिडको सम्भाव्यता बारे अध्ययन गर्न म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट गरिएको परिक्षण उडान सफल भएको छ । भ्रमणको सिलसिलामा अष्ट्रियाबाट आएका एक नागरिकले विहिवार ताकमकोत परिसरबाट टेकअफ गरी ताकम गाउँको किमचोर फाँटमा ल्याण्ड गर्नुभएको थियो ।

समुन्द्री सतहदेखि २ हजार ५ सय मिटर उचाईमा रहेको कोत परिसरबाट सफल उडानपछि करिब आधा घण्टा आकाशमा विताएर अवतरण गर्ने क्रममा पर्यटक एवम् पाइलट उत्साहित देखिएको स्थानीय युवा कृष्णराज पौडेलले जानकारी दिनुभयो।

‘परिक्षण उडान पछि परिक्षण सफल भएको छ, ‘यस क्षेत्रमा ब्यवसायीक उडान सम्भव छ पर्यटकको भनाई उद्धित गदैं पौडेलले भन्नुभयो । ताकमकोत देखि आसपासका क्षेत्रमा हावाको चाप र अन्य भौगोलिक हिसावले प्याराग्लाडिडका लागि उपयुक्त भएको पर्यटकको भनाई छ ।

ताकम आसपासका क्षेत्रमा लस्करै देखिने हिमश्रृंखला सहित प्रकृतिसँग रमाउन प्याराग्लाडिड उडान तथा प्रशिक्षण दुवैका लागि उपयुक्त भएको पर्यटकले स्थानीय सरोकारवाला निकायका प्रतिनिधिलाई समेत जानकारी गराएकाले गाउँपालिकामार्फत पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

गाउँपालिकाले पहल गरेमा नागरिक उड्यनले उडान अनुमति दिएको खण्डमा नीजि कम्पनी व्यवसायिक उडानका लागि आर्कषित गर्न सकिने बताइएको छ।

प्याराग्लाडिडको परिक्षण उडानका लागि टेक अफ गर्ने स्थान ताकमकोत बनाएर ल्याण्ड गर्ने जमिन ताकमको किमचोर आसपासमा ब्यवस्थापन गर्न सकिन्छ ।

ऐतिहासिक ताकम कोत मन्दिर पुननिर्माण गरि अन्य पर्यटन पूर्वाधार निर्माण भैरहेको अवस्थामा प्याराग्लाइडिङको सफल उडान भएपछि उत्साहित भएको ताकमका स्थानीय यूवा गोपाल आचार्यले बताउनुभयो ।

ताकम गाउँको शिरमा रहेको यो कोतमन्दिर १६आँै शताब्दीमा तत्कालीन राजाले निर्माण गरेका थिए । ताकमकोतसम्म सडक पुगेकाले त्यहाँ दर्शन गरी प्याराग्लाडिडबाट ताकम आसपासमा आउन सकिने भएकाले पनि यस कार्यको सदुपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

बाइसे÷चौबीसे राज्यका पालामा थापा राजाले २०० वर्षसम्म राज्य सञ्चालन गरेको ताकम कोतमा पुजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ विजया दशमीको नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पूजाआजा र भाकल गरी बली चढाउन यस कोतमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

यस क्षेत्रबाट आँखै अगाडी गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे« हिमश्रृंखाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । धार्मिक, ऐतिहाँसिक महत्व बोकेको ताकमकोतलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय तह, स्थानीयबासी लगायत सरोकारवाला निकायको सक्रियता रहेको छ।

Leave a Reply