म्याग्दीमा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले आगामी माघ ७ गतेदेखि लागु हुने गरी यस्तो नियम लागु गरेको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाद्धारा जारी आदेशमा होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, सरकारी निकायबाट सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्नेछ ।

सार्वजनिकस्थलमा सबै प्रकारका सेवाहरु हुने भएकाले अनिवार्य खोप कार्ड लिएर आउन वा सेवाग्राहीको विवरणसँग मिल्ने गरी मोवाईलमा फोटो राख्न समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । ‘सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन अपिल गरेका छौ,‘अब हरेक नागरिक सर्तक हुनुपर्छ’ प्रजिअ रानाले भन्नुभयो । नियमको पालना गरे वा नगरेको अवस्थाको नियमित अनुगमन तथा आवश्यकता परेको ठाउँमा छड्के अनुमन समेत गरिने बताइएको छ ।

सेवाप्रवाह गर्ने निकायले खोप कार्ड नभई सेवा प्रवाह गरेमा समेत प्रचलिन नियम अनुसार कारवाही गरिने जनाइएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयको आधिकारिक फेसबुक पेजबाट जारी गरेको सूचनामा सास्कृति तथा धार्मिक चाडपर्वहरुरुमा मेला, भेला तथा महोत्सवहरु, धेरै मानिसहरु उपस्थित हुने गरी राजनीतिक तथा अन्य सामाजिक कार्यक्रमहरु नगर्न निर्देशन गरिएको छ ।

अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने र स्वास्थ्य मापदण्ड पालना गर्दै २५ जना बढी उपस्थित नगराउन, यातायात ब्यवसायीले क्षमताभन्दा बढी यात्रु नराखी मास्क र सेनिटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने प्रशासनले जनाएको छ । त्यस्तै विभिन्न पेशा र ब्यवसाय तथा पसलहरुमा ब्यवसायीले जनस्वास्थ्यका मापदण्डहरु पुस ३० गते शुक्रबार देखि अनिवार्य पालना निर्देशन छ ।

Leave a Reply