बेनी नगरपालिकाको १०औँ नगरसभाबाट चालु आर्थिक वर्ष २०७८/७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् ।यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ वटा पूर्वाधारसम्बन्धी योजना र १६२ वटा कार्यक्रमका लागि रु २३ करोड २६ लाख ८५ हजार विनियोजन गरिएको थियो ।

दश योजनाका लागि रु ८० लाख विनियोजन गर्ने र १२ योजना संशोधन गर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ । “दशवटै वडामा रु आठ–आठ लाखका दरले एक–एक योजनाका लागि बजेट विनियोजन गरिएको छ”, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भने, “वडा समितिले सिफारिस गरेका आठ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक विकासतर्फ दुई–दुई योजना संशोधन भएका छन् ।”

सभाले बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न रु १० लाख विनियोजन गरेको छ । सभाले चालुतर्फको रु ४५ करोड ८१ लख १० हजार र पूँजीगततर्फको रु २४ करोड ९६ लाख ६१ हजार संशोधित बजेट पारित गरेको छ । हालसम्म चालुतर्फको रु १६ करोड ८५ लाख चार हजार (३७.८५) र पूँजीगततर्फ रु दुई करोड ९५ लाख ३५ हजार (१२.४८) प्रतिशत बजेट खर्च भएको प्रगति विवरण नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरे ।

यस वर्ष बजेट विनियोजन भएकामध्ये ३० योजना सम्पन्न र ४३ सम्झौता भइसकेका तथा अन्य कार्यान्वयनको चरणमा छन् । कूल रु चार करोड १२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बेनी नगरपालिकाले पुस २५ गतेसम्म रु एक करोड ६९ लाख २९ हजार (४१.०९) प्रतिशत राजस्व सङ्कलन गरेको छ । रु दुई लाखभन्दा कम बजेटका योजना वडामै सम्झौता, रु १० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना निर्माण व्यवसायीमार्फत कार्यान्वयन गर्ने नगरपालिकाले नीति लिएको छ ।

नगरपालिकाले सडक, सिँचाइ, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, पदमार्ग र भवन निर्माणसम्बन्धी आयोजनालाई प्राथमिकता दिएको छ । रावण उद्यान, खुलामञ्च विस्तार, गलेश्वर–गिठिनी–पात्लेखेत सडक, अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक, कालीपुल बसपार्क, गौस्वारा तमाने खानेपानी योजना, एकीकृत जामुनाखर्क खानेपानी, खबरा खानेपानी योजना, क्याम्पस चोक तथा मङ्गलाघाट भलबाढी नियन्त्रण र तातोपानी कुण्ड व्यवस्थापन तथा प्राकृतिक चिकित्सालय सञ्चालन नगरपालिकाका गौरवका आयोजना हुन् ।

आवधिक योजना बनाएको र मध्यकालीन खर्च योजना तर्जुमाको क्रममा रहेको बेनी नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका ११ मुद्दामध्ये दुई फर्छौट भएका छन् । नगरपालिकाका १९ हजार ८०८ जनालाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । विपद्का कारण क्षति पुगेका ५७ परिवारलाई रु ३२ लाख राहत वितरण गरिएको छ ।

Leave a Reply