म्याग्दीको बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन्।

सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी, प्रशासनिक क्षेत्र र सञ्चार क्षेत्रबाट भएको दबाबका कारण ठेकेदार काममा फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

‘चौतर्फी दबाब सिर्जना भएपछि ठेकेदार काममा फर्किएका हुन्’, उनले भने, ‘दैनिक ३०/३५ मजदूरले काम गर्न थालेका छन्। अब भवन निर्माणले पूर्णता पाउने आशा पलाएको छ।’

वि.सं २०७३ मंसिर २१ गते महादेव खिम्ती–गल्वा–रफिना जेभीले सो भवन बनाउन १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो।

चार हजार ९६३ वर्गमिटर जमिनमा बनाउन लागिएको चारतले तीन वटा भवन विसं २०७६ मंसिर २० गते निर्माण सक्ने लक्ष्य थियो।

सघन सहरी तथा भवन डिभिजन कार्यालयका इञ्जिनियर वीरबल सुनारले हालसम्म भवन निर्माणको काम साठी प्रतिशत पुगेको बताए।

सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोना संक्रमणका कारण आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत् थपिएको म्याद गत मंसिर  २० गते सकिएको छ।

ठेक्का लिने महादेव खिम्तीका सञ्चालक रवि सिंह निर्माण व्यवसायी महासङ्घका अध्यक्ष पनि हुन।

तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रङ्गरोगन, विद्युत्, पानी, फर्निचर जडानलगायत काम बाँकी छन्।

कार्यालयले निर्माण व्यवसायीको घरौटी जफत गर्न बैंकलाई र निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न चेतावनीसहितको पत्र पठाएको थियो।

साझेदारीमा काम गरेका तीन वटै निर्माण व्यवसायीको लेनदेन विवादले भवन निर्माणमा असर परेको थियो।

भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कँडेलले बताए।

‘पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौं,’ उनले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ।’

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो। बहिरंग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ।

आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ।

स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ।

सघन उपचार कक्ष (आइसियु) र डायलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना गरिएको छ।

पन्ध्र शय्या क्षमताको अस्पताल २०७२ मा पचास शय्यामा स्तरोन्नति भएको थियो।

भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्रीसमेत हुनेछ। भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ।

निर्माण कम्पनीका प्रतिनिधि रविन जोशीले पुरानो भवन भत्काउन, रूख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन भएको ढिलाइले सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरू गर्न पाएको बताए।

साझेदारी गरेका तीन वटा निर्माण कम्पनीको लेनदेन विवाद अदालत पुगेको छ।

अदालतको आदेशअनुसार कार्यालयले रु दुई करोड भुक्तानी रोकेर राखेको छ। मजदूर, आपूर्तिकर्ता र सहायक निर्माण कम्पनीले भुक्तानी नपाएको गुनासो गरिरहेका छन्।

Leave a Reply