म्याग्दीको मालिका गाउँपालिका-५,देविस्थान पन्थोककी नरमायाँ विकको श्रीमान वैदेशिक रोजगारमा गएको तिन वर्ष वितिसक्यो । धन कमाउने आशमा घर छोडेर कुवेत गएका दलबहादुर विकले नियमित कमाई पठाउने बाचा पुरा गरेनन् । अहिले उनी कुन अवस्थामा छन् परिवारमा कुनै अत्तोपत्तो नै छैन ।

घरको आर्थिक खर्च धान्न नसकेपछि वैदेशिक रोजगारको बाटो रोजेका दलबहादुरले निरन्तर महिलासँग बसेको तस्वीर पठाएर उल्टै मानसिक तनाव समेत दिएका छन् ।

चरम गरिबीसँग जुधेकी नरमायाँले छोराछोरीको पालनपोषण तथा शिक्षादीक्षाका लागि खर्च पठाउन बारम्बरा अनुरोध गर्दा कुवेतमै दोस्रो विवाह गरेर बसेको भन्दै मानसिक तनाव दिने गरेको बताईन् ।

केही महिना अगाडी नेपाल आउने तयारीमा रहेको र सिधै घर आउने भन्दै फोन गरेपनि आफूले फोन गर्दा फोन नउठाउने, उठाए पनि पछि गर्छु भनि काट्ने गरेको नरमायाँको गुनासो छ । ‘घरको अवस्था नाजुक छ,‘पीडादायी दैनिकी विताउन बाध्य भएकी छु’ नरमायाँले भनिन् ।

उनले श्रीमानले नेपाली दुताबासमा फिर्तीको प्रक्रियामा रहेको भन्दै विवरण पठाएपनि करिब ७ महिनासम्म नआएपछि बाध्य भएर सञ्चारमाध्यममा जानुपरेको बताईन् ।

‘कुवेतमै विवाह गरेको छु, विदेश गएर परिवार पाल्न भन्दै धम्की आउँछ,विदेशिएका श्रीमानको अहिले नत फोन आयो, नत आफू नै आए’ नरमायाँले भनिन् । उनले श्रीमानको कमाईबाट घरखर्च चलाउनुपर्ने भएपनि पेट पाल्न पनि गाह्रो भएपछि विदेश जान पासर्पोट समेत बनाएको बताईन् ।

‘मलाई विदेश जान दवाव दिएपछि मैले पनि प्रयास गरेको थिए,‘नाबालक छोरालाई छोडेर जान परिवारले दिनुभएन’ नरमायाँले भनिन् । उनले कुबेतमा एक महिलाले समेत श्रीमानसँगै बसेर मानसिक तनाव दिने गरेको र त्यहाँ रहेका गाउँलेहरुले सम्पर्कको प्रयास गर्दा समेत सम्पर्कमा नआएको नरमायाँको भनाई छ ।

वैदेशिक रोजगारमा गएका श्रीमान हराएको जानकारीपछि मोना कुवेतका अध्यक्ष मनबहादुर फगामीले सम्पर्कमा ल्याउन प्रयास गरेपनि नियत नै खराव भएकाले नआएको बताए । ‘हाम्रो सम्पर्कमा आउन चाहेन, उसले नेपाल फर्किने बाहना मात्रै बनाएको रहेछ, अहिले गैरकानुनीरुपमा बसेको छ’ अध्यक्ष फगामीले भने ।

उनले नेपालमा श्रीमतिको आर्थिक अवस्था नाजुक भएको खवर बारम्बार विभिन्न माध्यमबाट सुनाउँदा समेत अटेर गरेको बताउँदै नेपाली दुताबासबाटै खोजीकार्यका लागि अपिल गरेको बताए ।

पछिल्लो समय म्याग्दीमा श्रीमती विदेशमा कमाएको पैसाले सम्पत्ती जोड्ने, छोराछोरीको शिक्षादीक्षा सहित आवश्यक समस्या समाधान गरी सुखी जीवन बिताउने सपना देखाएर गएका श्रीमान सम्पर्कविहीन भएको गुनासो आउन थालेको महिला अधिकारकर्मीको समेत भनाई छ । यसैबीच कुवेतमा रहेका म्याग्देलीलाई दलबहादुर कार्यरत कम्पनीको बारेमा जानकारी भए सम्पर्कमा ल्याउन समेत अनुरोध गरिएको छ ।

Leave a Reply