म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रवार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको कोरोना परिक्षण गरिएको थियो । उक्त परिक्षणमा थप एक शिक्षकमा कोरोना संक्रमण देखिएपछि संक्रमित दुबै शिक्षकले पठनपाठन गराउने सबै कक्षाका विद्यार्थीहरुमा कोरोना परिक्षण गरिएको थियो ।

१७ जना शिक्षक कर्मचारीमध्ये दुई जना र ८२ जना विद्यार्थीहरुमा गरिएको परिक्षणमा १० जना गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि १० दिनका लागि विद्यालयको पठनपाठन बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, संक्रमित विद्यार्थिका अभिभावक र घरपरिवारका सदस्यहरुलाई शनिवार कोरोना परिक्षण गराउनका लागि अस्थायी कोभिड अस्पतालमा आउन अनुरोध गरिएको छ । शिक्षकहरुको अस्थायी कोभिड अस्पताल पिप्ले र विद्यार्थीहरुको विद्यालयमै एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

१० दिनपछि पुनः कोरोना परिक्षण गरिने र संक्रमण नभेटिएपछि मात्रै विद्यालय सूचारु हुने गाउँपालिकाले जनाएको छ । सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेपनि जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागु गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको छ ।

मन्त्रालयले बार्षिक विदामा समायोजन हुने गरि शैक्षिक संस्थाहरु बन्द गर्न भनेपनि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्ला स्थित सरोकारवालाहरुले जिल्लामा कोभिडको संक्रमण भयाबह र डरलाग्दो अबस्थामा नपुगेकाले तत्काल विद्यालयहरु बन्द नगर्ने निर्णय गरेका थिए । म्याग्दीमा स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोहि कार्यविधि बमोजिम कोरोना संक्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जनाईएको छ ।

Leave a Reply