म्याग्दीमा आइतबारदेखि विद्यालयका किशोरीलाई आइरन चक्की खुवाइने

0

विद्यालय उमेर समूहका किशोरीहरुलाई  किशोरी तथा युवतीलाई हुने रक्तअल्पताबाट जोगाउनका आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सदरमुकाम बेनीमा समीक्षा गरिएको हो ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा समीक्षा गरिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा किशोरीहरुलाई आइरन चक्की खुवाउने विषयमा गतवर्ष सञ्चालित कार्यक्रमको प्रभावकारिता तथा चालु वर्षमा सञ्चालन गर्न लागिएको कार्यक्रमको बारेमा छलफल गरिएको थियो ।

विद्यालय जाने किशोरीहरुलाई विद्यालयमा, विद्यालयभन्दा बाहिर रहेका किशोरीहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकीमार्फत आइरन चक्की खुवाउने कार्यक्रम रहेको बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले जानकारी दिनुभयो । बेनी नगरपालिकाभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा बेनी नगरपालिकाका स्वास्थ्य सहसंयोजक डिल्लीराज आचार्यले विद्यालय तथा पोषण कार्यक्रममाथि सहजीकरण गर्नुभएको थियो ।

यसैगरी सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । किशोरीहरुमा हुने रक्तअल्पताको रोकथाम गर्ने उद्देश्यसहित उनीहरुलाई आइरन चक्की खुवाउन लागिएको हो । एक आर्थिक वर्षको पहिलो चरणअन्तर्गत साउन–भदौ र असोज तथा माघ–फागुन र चैत गरी दुई चरणको ६ महिनाको अवधिमा २६ हप्तासम्म आइरन चक्की खुवाइने स्वास्थ्य शाखाका सहसंयोजक आचार्यले बताउनुभयो । म्याग्दीमा पर्सि (आइतबार)देखि आइरन चक्की खुवाउने कार्यक्रम सञ्चालन हुने भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले राज्यको लगानीमा सञ्चालित किशोरीहरुलाई आइरन चक्की खुवाउने कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले बेनी नगरपालिकामार्फत पाँचवटा विद्यालयमा स्टाफनर्स कार्यक्रम लागू गरिएको तथा आधारभूत तहमा अध्ययनरत बालबालिकाहरुलाई विद्यालय खाजा कार्यक्रम सञ्चालन भैरहेको हुँदा सरोकारवाला निकायले पनि आफ्नो तर्फबाट अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सुआहारा कार्यक्रमका बागलुङ–म्याग्दी संयोजक राजेन्द्र अधिकारी र धवलागिरि माध्यमिक विद्यालय सिङ्गाका प्रधानाध्यापक डण्डपाणि सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो । विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेरलाई किशोरावस्था मानेको हुँदा यो समयमा शारिरीक वृद्धि विकासको दर उच्च हुने भएकाले पोषणलाई महत्व दिनुपर्छ ।

मानव शरिरमा हुने राता रक्तकोशिका (आरबिसी)को विभिन्न तन्तुहरुसम्म अक्सिजन पु¥याउने क्षमतामा कमी आउनुलाई रक्तअल्पता भनिन्छ । आइरन तथा पोसिलो खाना कम खानु, जुकाको संक्रमण तथा अन्य रोगहरु र किशोरावस्थामा गर्भवती हुने कारणले रक्तअल्पता हुन्छ । रक्तअल्पता हुनबाट बच्नका लागि हरियो सागपातका साथै भिटामिन–सीयुक्त खानेकुरा, फलफुल तथा पशुजन्य उत्पादनको उपभोगमा जोड दिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । हामीले दैनिक खाने खानामा पनि सन्तुलित भोजन तथा विविधिकरण गर्नुपर्ने आवश्यकता पर्दछ ।

किशोरीलाई आइरन किन ?

किशोर अवस्थालाई बाल्यावस्थापछि मानव शरीरमा हुने वृद्धि र विकासको दृष्टिकोणले दोस्रो महत्वपूर्ण अवधिको रुपमा लिइन्छ । किशोर अवस्था भन्नाले बाल्यावस्था र वयस्क अवस्थाबीचको मानव विकासको चरणलाई जनाउँछ । विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेर समूहलाई किशोर अवस्था भनी परिभाषित गरेको छ । किशोर अवस्थामा वयस्क अवस्थाको ४० देखि ६५ प्रतिशत तौल र १५ देखि २० प्रतिशतसम्म उचाइ हासिल हुन्छ ।

किशोर अवस्थामा तीव्र दरमा शारीरिक वृद्धि विकास हुने भएकाले पोषणको आवश्यकता बढी हुन्छ । पोषणतत्व अधिक आवश्यकता हुने भए तापनि विभिन्न कारणहरु (सामाजिक, सांस्कृतिक, आर्थिक, जीवनस्तर परिवर्तन, मनोवैज्ञानिक आदि) ले गर्दा पोषणयुक्त खानपानमा कमी हुने हुँदा न्यून पोषणको जोखिम हुन्छ, जसमध्ये रक्तअल्पता पनि एक हो ।

रक्तअल्पता भनेको शरीरमा रगतको कमी भएको अवस्था हो । रक्तअल्पताका कारणहरुमध्ये आइरनको कमी एक प्रमुख कारण हो । नेपालमा करिब ३५ प्रतिशत प्रजनन् उमेरका महिलाहरु रक्तअल्पताबाट पीडित छन् भने ३९ प्रतिशत किशोरीहरुमा रक्तअल्पताको समस्या देखिएको तथ्याङ्क छ ।

नेपाल सरकारले रक्तअल्पताको समस्यालाई समाधान गर्न विभिन्न कदम चालिरहेको छ । विगत केही वर्षमा यसको प्रतिशत घटे पनि विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालका किशोरीहरुमा रक्तअल्पता मध्यम जनस्वास्थ्य समस्याको रुपमा रहको छ । यदि यो समस्या ४० प्रतिशतभन्दा बढी किशोरीहरुमा देखिएमा गम्भीर समस्याको रुपमा रहने छ ।

आजका किशोरी भनेका भोलिका आमा हुन् । यदि किशोरी कुपोषित भइन् भने भोलि जन्मने बच्चा पनि कम तौलको र कुपोषित जन्मिन सक्छ, जसले परिवार, समाज र सिङ्गो राष्ट्रको विकासका लागि नराम्रो असर गर्नसक्छ । किशोरीहरुमा आइरनको कमीले हुने रक्तअल्पता भएमा शरीर पूर्ण रुपमा वृद्धि नहुने, कमजोर वौद्धिक विकास हुने, न्यून शारीरिक क्षमता तथा कार्य सम्पादन र दैनिक कार्यमा कम एकाग्रता जस्ता समस्या देखिन्छन् । साथै विभिन्न अनुसन्धानका अनुसार रुक्तअल्पता भएका किशोरीहरु पछि गर्भवती भएमा समयभन्दा अगाडि शिशु जन्माउने र कमतौलको शिशु जन्माउने जस्ता जोखिम व्यहोर्नुपर्ने हुन्छ ।

चिकित्सकहरुका अनुसार शरीरको करिब ६५ देखि ७५ प्रतिशत आइरन हेमोग्लोबिनको रुपमा रगतमा पाइन्छ । आइरनको आपूर्ति कम भएमा हेमोग्लोबिन निर्माण प्रभावित हुन्छ । नेपालमा विद्यमान रक्तअल्पताका विभिन्न कारणमध्ये प्रमुख कारण दैनिक आहारमा आइरनयुक्त खानाको कमी हुनु हो । पोषणयुक्त खाद्यपदार्थको रोजाइबारे कम चेतना, विभिन्न सांस्कृतिक तथा परम्परागत प्रचलन, जुकाको संक्रमण र किशोरीमा रजस्वला चक्र शुरु हुने कारणले गर्दा यो उमेर समूहमा आइरनको आवश्यकता बढी रहेको हुन्छ ।

 

Leave a Reply