म्याग्दी जिल्लाको बेनी नगरपालिका-१, रत्नेचौरकी सुनिता बोगटीले आफ्नो घरअगाडिको सडकमा दिनहुँ भिडभाड होला भनेर कहिल्यै सोचेकी थिएनन्। घरअगाडि कालोपत्रे सडक आसपासमा पहेँलपुर फूलेको तोरीबारीमा भीडभाड हुन थालेपछि उनी दंग छिन्।

केही वर्ष अगाडीसम्म सुनसान रत्नेचौरको सडक कालोपत्रे भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन्। शुक्रबार, शनिबार र सार्वजनिक बिदा भएमा अन्य दिनमा बढी भीड लाग्ने गरेको छ। म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्न समेत हम्मेहम्मे पर्ने गरेको छ।

माघे संक्रान्तिको दिनमा करिब साढे दुई सयभन्दा बढी तोरीबारीमा तस्बिर लिन आएपछि प्रहरीको टोलीले तितरवितर पारेको थियो। बेनी–बागलुङ सडकखण्डको प्रयोग गरी तोरीबारीमा पुग्नेहरूको संख्या अत्याधिक भएपछि प्रहरीले शनिबार प्रवेशमा समेत कडाई मात्रै गरेर रत्नेचौर प्रहरी चौकीबाट टोली नै परिचालन गर्नुपर्ने बाध्यता बन्यो।

‘तोरीबारीमा टिकटक बनाउनेहरू धेरै भेटिन्छन्, आन्तरिक पर्यटकका कारण रत्नेचौर भाइरल भएको छ’ स्थानीय भानु माविका प्रधानाध्यापक भरत खत्रीले भने।

उनका अनुसार तोरी उत्पादन हुने सिजन बाहेक पनि कालोपत्रे सडकमा तस्बिर, भिडियो खिचेर सामाजिक सञ्जाल तथा टिकटकमा राख्ने मानिसहरू मोटरसाईकल र गाडी चढेरै आउने गरेका छन्।

चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौं अग्लो धौलागिरि हिमालको दृष्यसँगै समथर फाँटको पहेँलपुर तोरीले स्थानीयको व्यापारमा समेत सघाएको छ।

तोरीमा रमाउनै आसपासका क्षेत्रमा बनभोजसहित हालै खुलेका होटलको कारोबारसमेत बढेको स्थानीय युवा सन्तोष महतको भनाइ छ। ‘तोरीबारी र कालोपत्रे सडकले आन्तरिक पर्यटकलाई आर्कषित गरेको छ, घुम्न आउनेहरूको चहलपहललाई स्थानीयले राम्रो मानेका छन्’ महतले भने।तोरीबारीमा गएर फोटो र भिडियो खिच्दा क्षति हुने भएकाले धेरैले सडक आसपासबाटै खिच्ने गरेका छन्।

बेनी नगरपालिका–४, सिंगा तातोपानीबाट घुम्न गएकी मोनिका शेरचनले टिकटक लगायत सामाजिक सञ्जालमा दैनिकजसो तोरीबारीको भिडियो र तस्वीर देखेपछि घुम्न आएको बताइन्।  ‘टिकटकमा देखेको भन्दा राम्रो लाग्यो, एकैपटक भिडभाड हुदाँ मेला आएजस्तै भएको थियो’ उनले भनिन्।

कालोपत्रे सडकबाटै तस्विर लिँदा समेत प्रहरीले अनावश्यक दुःख दिएको भन्दै घुम्न गएकाहरूले आक्रोश पोखेका थिए। पूर्व सूचनाबिना प्रहरीले दुख दिएको घुम्न गएकाहरूको गुनासो थियो।स्थानीयबासीले समेत तोरीलाई क्षति नहुने गरी तस्बिर र भिडियो लिन दिनुपर्ने भन्दै घुम्न गएकाहरुको पक्षमा बोलेपछि सबै उत्साहित भएका थिए।

रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्ड अन्तरगत ९ सय मिटरको कालोपत्रे सडकमा रत्नेचौर र उपल्लाचौरका करिब ५ घरधुरीले तोरी खेती गरेका छन् । घरआँगन, खेतबारीमा लगाएको तोरीको तेल खोज्दै गाउँमा आउने ग्राहकलाई समेत विक्री गर्न नसकिएको कृषकको भनाई छ । नेपालमा पाईने दुई रंगको तोरीमध्ये म्याग्दीका पहेंलो तोरी खेती हुन्छ ।

पहेंलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्र हुन्छ । साढे दुई दशक अगाडीसम्म गाउँमा रहेको तोरी मिलमा जिल्लाका अन्य स्थानबाट समेत पैदल हिडेर आउने गरेका थिए । तोरीको बोटलाई तरकारी समेत बनाउने गरिन्छ । गाउँबस्तीमा फुलेको तोरीले ग्रामिण सुन्तरतालाई समेत निखार ल्याउने गरेको छ ।

Leave a Reply