Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

यस वर्ष म्याग्दीमा तरुल तथा सखरखण्डको उत्पादन घट्यो

माटोभित्र फल्ने लहरे वनस्पति तथा कन्दमुल हो तरुल । वनस्पतिको जरामा फल लाग्ने र जरासँगै खान मिल्ने खाद्यपदार्थलाई कन्दमुल भनिन्छ । तरुलले नेपाली समाजमा परम्परागत खानाको पहिचान बनाएको छ ।

नेपाली समुदायमा खासगरी पुसेपन्ध्र र माघेसङ्क्रान्ति पर्वमा तरुल, सखरखण्ड र पिँडालुको विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ । परापूर्वकालदेखि अहिलेसम्म कन्दमुलको अस्तित्वका रुपमा रहेको तरुलको उत्पादन र व्यापार भने पछिल्लो समय घटेको छ । स्वास्थ्यवर्द्धक समेत मानिने तरुलको उत्पादनमा कमी आएको हो ।

यसवर्ष माघे सङ्क्रान्ति जस्ता चाडपर्वमा हिमाली जिल्ला म्याग्दीमा तरुलको उत्पादन र व्यापार घटेको छ । वर्षामा अत्यधिक पानी पर्नु, किसानले लगाउन छाड्नु र सिजनेबल मात्रै हुने भएकाले पनि तरुलको उत्पादनमा कमी आएको छ ।

बिक्री गर्ने चिजहरुको उत्पादन ने नभएपछि व्यापार हुने त झन् कुरै भएन । व्यापारीहरुले पनि माघे सङ्क्रान्तिमा अर्गानिक उत्पादनहरु तरुल, वनतरुलको व्यापार घटेको बताएका छन् ।

विगतका वर्षहरुमा तरुल, सखरखण्ड र पिँडालुको व्यापार निकै हुन्थ्यो । सदरमुकाम बेनीबजारको चोक, चोकमा तरुल, सखरखण्ड र पिँडालु किन्ने ग्राहकहरु र बेच्ने व्यापारीको भीड नै लाग्थ्यो ।

गाउँगाउँमा उत्पादित तरुल, सखरखण्ड र पिँडालु बोकेर ग्रामीण भेगका किसानहरु बजार झर्ने गर्दथे । अनि बजारका थोक तथा खुद्रा व्यापारीहरुले किसानका उत्पादनहरु खरिद गरेर बिक्री गर्ने गर्दथे । तरकारी तथा फलफूल पसलहरुमा तरुल, सखरखण्ड र पिँडालुका उत्पादन राख्ने ठाउँ हुँदैन्थ्यो ।

यसवर्ष पुसेपन्ध्र र माघेसङ्क्रान्ति पर्वमा तरुल, सखरखण्ड र पिँडालु निकै कम मात्रामा बजार आएको छ । म्याग्दी जिल्लाको आफ्नै उत्पादन १० प्रतिशत मात्रै रहेको व्यापारीहरुको अनुमान छ भने प्रायजसाे उत्पादन म्याग्दीभन्दा बाहिर पोखरा, धादिङ, चितवनलगायत जिल्ला र ठूला सहरबाट बेनीमा आउने गरेको छ । अहिले वनतरुल प्रतिकेजी दुईसय ५०, घरको तरुल एकसय ५०, सखरखण्ड एकसय र पिँडालुको ८० रुपैयाँ बजार मूल्य तोकिएको व्यापारीहरु बताउँछन् ।

गएकाे वर्ष करिब ३५ प्रतिशत मात्रै तरुलको बिक्री गरेको भए पनि यसवर्ष भने म्याग्दीको उत्पादन खासै बजारमा नआएको सुवेदी किराना तथा तरकारी फलफूल पसल बेनीका प्रोप्राइटर देवेन्द्र सुवेदीले बताउनुभयो ।

उहाँले बेनीका होलसेल पसलहरुमा जिल्लाभन्दा बाहिरको तरकारीजन्य उत्पादन धेरै आउने गरेको बताउँदै पर्वत र पोखराबाट तरुल, सखरखण्डलगायत कन्दमुलहरु धेरै भित्रिएको जानकारी दिनुभयो ।

जरेबाली भएकाले तरुललगायत कन्दमुलको उत्पादनमा पानी धेरै पर्नु तथा किसानले गहिरो र चिसो ठाउँमा लगाएको हुँदा उत्पादन घटेको कृषि प्राविधिकहरुको भनाइ छ ।

म्याग्दी जिल्लामा जडीबुटीलगायत अर्गानिक उत्पादनहरु प्रशस्तै हुने जमिन भए पनि उत्पादन हुन सकिरहेको छैन । पछिल्लो समय बारीलाई मासेर खेत बनाउने र त्यसमा धान खेती लगाउन थालेपछि तरुल, सखरखण्ड र पिँडालुको उत्पादन घट्दै गएको छ ।

तरुल, सखरखण्ड र पिँडालुका लागि बारी चाहिने हुँदा पछिल्लोपटक बारीलाई खेत बनाएर धान रोपेपछि अत्यधिक चिसोका कारण तरुल र सखरखण्डको उत्पादन हुन छाडेको बेनी नगरपालिका–२, खबराका अगुवा किसान चन्द्रबहादुर कार्की बताउनुहुन्छ । उहाँले यसपटक पाँच/सात केजी मात्रै तरुल उत्पादन भएको बताउँदै तरुल लगाएको भए पनि पानी धेरै परेको हुँदा जरामै कुहिएर उत्पादन घटेको गुनासो गर्नुभयो ।

म्याग्दी जिल्लाको खबरा, बराङ्जा, तातोपानी, हिदी, पुलाचौर, तोरीपानी, काउलेगौँडा, राखुलगायत क्षेत्रमा कन्दमुल तथा तरकारीको उत्पादन हुँदै आएको छ । नेपालमा तीन प्रजातिका तरुल पाइन्छन् । तरुल धेरैजसो उसिनेर खाइने भएकाले यसमा भएको पोषक तत्त्व नष्ट हुँदैन । तरुललाई तागतिलोका साथै आडिलो खानेकुराको रुपमा पनि लिइन्छ।

माघे सङ्क्रान्ति पर्वलाई नेपाली समाजमा थारु, मगर र किराँत समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गर्दछन् । माघे सङ्क्रान्ति पर्वलाई घिउ, चाकु, तरुल, सखरखण्ड एवम् खिचडीलगायत मीठामीठा परिकारहरु खाएर मनाउने गरिन्छ । नेपालीहरुमा हिउँदे सिजनमा पाइने तरुललाई उसिनेर खाने प्रचलन पनि छ ।

कन्दमुलहरु खाँदा जाडोमा न्यानो हुने भएकाले चिसो समयमा पर्ने पर्वमा ताताेतातो परिकारहरु खाने गरिन्छ ।

Exit mobile version