कोरोनाको दर दैनिक बढ्न थालेसँगै बेनी नगरपालिकाले पहिलो खोप लगाउन छुटेका र पहिलो डोज लगाएर दोस्रो नलगाएकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरेको छ । आगामी माघ ५ र ६ गते बेनी अस्पताल खोप केन्द्रमा १८ वर्षभन्दा माथिका उमेर समूहका नगरबासीलाई खोप लगाउने र पूर्ण खोप लगाएकाका अग्रपंक्तीमा कार्यरत विभिन्न निकायकालाई बुस्टर खोप लगाउने प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो।

‘खोप अभियानमा सहभागी हुन अपिल गरिएको छ, सबै वडाभित्रको बस्तीबस्तीमा पुग्ने गरी सूचना पठाइएको छ’ ढकालले भन्नुभयो । पहिलो डोज लगाएकाले खोप कार्ड र पहिलो मात्रा पनि नलगाएकाले आफ्नो परिचय पत्र लिएर जाँदा खोप लगाउन सक्ने जनाइएको छ ।

अस्पतालमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइन्छ । यता बुस्टर खोपका लागि सरकारले तोकेका फ्रन्ट लाइनमा कार्यरत विभिन्न निकायका प्रतिनिधिहरु पर्छन् । बेनी नगरपालिकामा २४ हजार ०९६ र २० हजा २५५ जनाले क्रमश पहिलो र पूर्ण मात्रा खोप लगाएको तथ्याङ्क छ ।

जसमा नगरपालिकामा पहिलो मात्रा लगाउनेको कभरेज १०५% भएता पनि पूर्ण मात्रा लगाउनेको संख्या ८८.५% रहेकाले छुटेकालाई अनिवार्य खोप अभियानमा जोड्ने स्वास्थ्य शाखा संयोजक लिला गौतमले बताउनुभयो । नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाएकालाई पनि संक्रमण हुनसक्ने भएता पनि संक्रमण भएपछिको सिकिस्त बिरामी हुने तथा मृत्यु हुने सम्भावनालाई खोपले अत्याधिक रुपमा घटाएको अन्तराष्ट्रियस्तरमा भएका विभिन्न अनुसन्धानले समेत देखाएको छ ।

Leave a Reply