वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवी देवतालाई पुज्न एक महिने अवधिलाई विशेषरुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा मुलुकका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवी देवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो ।
आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर देवी देवताको पूजा आराधना सुरु गरेका छन् । वैदिक सनातन धर्मावलम्बी पनि विशेष गरी नेपालमा बसोबास गर्नेले नै यो पर्व मनाउँछन् । भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन् । यसैले यो नेपालकै मौलिक परम्पराका रुपमा रहेको छ ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधी लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इछ्याएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रत विधिअनुसार व्रतगर्दा पुत्रवियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए ।
शाली नदीमा १२५ वर्तालु
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शाली नदीमा माघ स्नानसहित माधवनारायणको मेला सुरु भएको छ । “माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”, इतिहासकार श्रेष्ठले भने ।
यस वर्षको माधवनारायण मेलाका लागि साँखुस्थित शाली नदीमा कोरोना महामारीका कारण १२५ मात्र व्रतालु राखिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ । एक सय ६ महिला र १९ पुरुषले माधवनारायण एवं श्री स्वस्थानी व्रत लिएको समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।
गतवर्ष पनि कोरोना महामारीको जोखिमका कारण ४९ मात्र व्रतालु राखिएको थियो । व्रतालुका लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर सुरक्षितसाथ राखिएको छ । शाली नदीमा स्नान एवं माधवनारायण र श्री स्वस्थानीको दर्शनका लागि भक्तजन आए पनि धेरै भीड भने नभएको उनले सुनाए ।