अब बेनी अस्पतालमै जटिल अवस्थाका नवजात शिशुको उपचार हुने भएको छ । अस्पतालमा ३ बेडको नवजात शिशु सघन कक्ष (एनआइसियु) सञ्चालनमा आएसँगै नवजात शिशुको उपचारमा सहज भएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको २ करोड ६१ लाखको लागतमा सुविधासम्पन्न एनआइसियुमा थप ८ नर्मल बेड समेत रहेको छ । यसअगाडी जन्मने बित्तिकै नवजात शिशुमा देखा पर्ने विभिन्न स्वास्थ्य समस्याको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकोमा अब सहज हुने बेनी अस्पतालले जनाएको छ ।

नवजात शिशुको उपचारका लागि आवश्यक उपकरण सहित शिशुको उपचार कक्ष सञ्चानलमा आएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । ‘नबजात शिशुको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ,‘ नवजात शिशु सघन उपचार कक्षको निकै आवश्यकता थियो’ कटुवालले भन्नुभयो । कक्षको स्थापना भएपछि आपतकालिन अवस्थामा देखिने शिशुको समस्या समाधानमा सहज भएको चिकित्सकको भनाई छ ।

कक्षमा भेन्टिलेटर लगायत उपचारमा आवश्यक सबै सुविधाहरु रहेको जनाइएको छ । कम तौल जन्मिएका, सास फेर्न समस्या, शरीरमा ग्लुकोजको मात्रा कम देखिएका र रगत जाने समस्या भएका दूध चुस्न नसक्ने लगायतका समस्या भएका नवजात शिशुलाई एनआइसियूमा नै राखेर उपचार गर्न सकिन्छ ।

बेनी अस्पतालमा नयाँ सेवासुविधा थपिएको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै बालबालिका समेत संक्रमणको उच्च जोखिममा रहेको अवस्थामा एआइसियु तथा अन्य बिरामीलाई समेत लक्षित गरी यसअगाडी नै स्थापना भएको आइसियु कक्षमा समेत जनशक्ती माग गरिएको छ ।

Leave a Reply