काम खोज्दै भारत जाँदा हराएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिख स्वातकी एक महिलाको उद्धार गरिएको छ । रोजगारको सिलसिलामा ५० बर्ष अगाडी घरबाट निस्किएर भारत पुग्नुभएकी ७४ बर्षिया रामसुबा तिलिजाको भारतको मेघालायन राज्यको एक बस्ती बाट उद्धार गरिएको हो । परिवारका सदस्य र गाउँलेले समेत आस मारिसकेको अवस्थामा कोइलाखानी नजिकै एक प्लाष्टिकको छाप्रोमा अलपत्र अवस्थामा रहेको जानकारी लगत्तै ४ जनाको टोली पुगेर घर ल्याएको छ ।

उमेरले साथ दिदाँसम्म्म मजदुरी गरेपनि बुढेशकालमा बिरामी भई अलपत्र परेको अवस्थामा सामाजिक सञ्जालमार्फत जानकारी पाएको उद्धारकर्ता एवम् नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति क्या. बलबहादुर तिलिजाले बताउनुभयो ।
‘उहाँ भेटिनुहुन्छ भन्ने कल्पना समेत गरेका थिएनौ,‘एक्कासी जिवित रहेको खवर आएपछि भारतमै पुगेर ल्याएका छौ’ तिलिजाले भन्नुभयो ।

उद्धारमा क्या. तिलिजा सहित टेकबहादुर तिलिजा, सरस्वती पाईजा र सिता पाईजाको टोली रामबुबा बसेको स्थानमै पुगेको थियो । २४ बर्षको उमेरमा घरबाट निस्किनुभएकी तिलिजा घर फिर्ता नभएपछि लामो समयसम्म खोजीकार्य गरिएपनि अत्तोपत्तो नभएपछि आस मारेको स्थानीय तथा आफन्तहरु अहिले उत्साहित हुनुभएको छ ।

भारतबाट उद्धार गरी जिल्ला प्रशासन कार्यालयबाट ७४ बर्षको उमेरमा नागरिकता समेत लिनुभएको छ । प्रजिअ चिरञ्जीवि रानाले रामसुबालाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । उद्धारको अवधिमा सहयोग गर्ने सम्पूर्णलाई उद्धारमा खटिएको टोलीले धन्यवाद समेत दिएको छ ।

Leave a Reply