जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले गरेको निर्णयको प्रभावकारी कार्यान्वयनको अभाव र हेल्चेक्राईले म्याग्दीमा कोरोना संक्रणको जोखिम बढेको छ । जिल्लाभित्र कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेका क्षेत्रमा नै फितलो तयारीले मंगलबारसम्म सक्रिय संक्रमतिको संख्या ७९ पुगेको छ ।

भिडभाड हुने गतिविधिहरु रोकिएका छैनन भने ग्रामिण क्षेत्रमा मेलाहरु सञ्चालन भइरहेको छ । आम नागरिक सहित राजनीतिक दलका नेता तथा स्वास्थ्यकर्मी र चिकित्सक नै संक्रमित भएपछि अवस्था थप जटिल बन्दै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेपनि जिल्लाका स्थानीय तहले विद्यालय नियमित सञ्चालन गरिरहेका छन् ।

डिसिसिएमसीको बैठकले जिल्लाभित्र कोरोना संक्रमतिको संख्या न्युन भएकाले तत्काल जनस्वास्थ्यका मापदण्डलाई पालना गदैं विद्यालय सञ्चालन गर्ने निर्णय गरेको एक सातामै संक्रमतिको संख्या चारगुणा बढीले बढेको छ । राजनीतिक दलका गतिविधि, आवतजावत रोकिएको छैन भने सार्वजनिक सेवा प्रवाह गर्ने स्थानमा समेत सामान्य मापदण्डको प्रयोग, भौतिकदुरीलाई ख्याल गरिएको छैन् ।

बेनी नगरपालिका र रघुगंगा गाउँपालिका अन्य स्थानीय तहको तुलनामा संक्रमित धेरै भएकाले सामान्य अवस्थामा छोड्न नहुने स्वास्थ्यका जानकारहरु बताउँछन् । बेनी नगर र रघुगंगामा कोरोनाको चेनब्रेकका लागि विद्यालय बन्द सहित अन्य सेवाहरुलाई समेत स्मार्ट लकडाउनको मापदण्डको प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको प्रजिअ चिरञ्जीवि रानाले बताउनुभयो ।

‘दुबै स्थानीय तहका प्रमुखसँग कुरा गरेको छु,‘यहाँ जनस्वास्थ्यको दृष्टिकोणले पनि जोखिममा छ’ प्रजिअ रानाले भन्नुभयो । नियमित खोप अभियान बाहेक अन्य सार्वजनिक गतिविधिका कार्यहरुलाई तत्काल स्थगित गर्नुपर्ने बताइएको छ ।

ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिमलाई रोक्न जिल्लाभित्र अनिवार्य मास्क अभियानको घोषणा भएपनि सञ्चालन गरिएको छैन । अधिकांश नागरिकले मास्क प्रयोग गर्न छाडेको र भौतिक दूरी कायम गरिरहेका छैनन् ।

सार्वजनिक यातायात भीडभाड हुने स्थानमा जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन सकेका छैनन्, जिल्लामा प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेस्क छैन भने जिल्लास्थित सरोकारवाला निकायको प्रतिनधिको उपस्थितिमा सार्वजनिक स्थानमा २५ जना बढी उपस्थित नगराउने सिमित भएको छ ।

त्यस्तै  अनिवार्य मास्कको प्रयोग सहित जनस्वास्थ्यका मापदण्डहरु पुस ३० गते शुक्रबार देखि अनिवार्य पालना निर्देशन जारी भएपनि कार्यान्वयनको अवस्था कमजोर रहेकाले संक्रमण उकालो लागेकाले अब ढिलाई गर्दा संक्रमणको दर नियन्त्रण बाहिर जाने जोखिम रहेको स्वास्थ्यकर्मीको चेतावनी छ ।

संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुलाई समेत अनिवार्य परीक्षणमा जोड्नुपर्ने अवस्था छ । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जिल्लाभित्र कोरोना संक्रमण विस्तारै बढ्न थालेको बताउनुभयो। ‘ मंगलबारको संक्रमतिको संख्याले अब संक्रमण बढ्ने सम्भावना छ, व्यक्तिगत रूपमा जनस्वास्थ्यका मापदण्डलाई कायम गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

प्रमुख लम्सालले कोभिड शंका लागे तत्काल परीक्षण गराउनुपर्ने र अनिवार्य सधैं मास्क प्रयोग आवश्यक रहेको बताउनुभयो । जनस्वास्थ्यका मापदण्ड पालना नभएको स्थानमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । मापदण्ड उल्लघंन गरेमा संक्रामक रोग ऐन, २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम सजाय गर्ने भनिए पनि त्यसो हुन सकेको छैन ।

Leave a Reply