कर्मचारीमा कोरोना देखिएपछि म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालयले अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको छ । गाउँपालिकाका कार्यरत कर्मचारी र जनप्रतिनिधि गरी ७ जनामा कोरोना संक्रमण पुष्टी भएपछि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो । ‘कोरोनासँग सम्बन्धित बाहेकका सबै सेवा बन्द गरिएको छ,‘अब थप परीक्षणपछि मात्रै नियमित सेवा सञ्चालन हुन्छ’ सुबेदीले भन्नुभयो ।

उहाँका अनुसार कोरोना जोखिम बढदै गएका बेला सेवाग्राही लगायत अन्य कर्मचारी जोखिममा पर्ने देखिएपछि सूचना प्रकाशन गरी आगामी माघ १२ गतेसम्मका लागि सेवा बन्द गरेको हो । बुधबारदेखि माघ १२ गतेसम्मका लागि पालिकाले दिने सबै किसिमका सेवा बन्द गरिएकाले कोरोना सहित स्वास्थ्यको सेवालाई भने आवश्यकता अनुसार प्रदान गरिने छ । संक्रमित कर्मचारीको अवस्था सामान्य छ ।

बुधबारदेखि पालिकाका सबै विद्यालय समेत माघ १५ गतेसम्मलाई बन्द गरिएको छ । गाउँपालिकाको केन्द्रमै रहेका ज्ञानोदय मावि बाहेक अमरसिंह आवि र भगवतीको मुक्तिथाम माविमा समेत कोरोनाको संक्रमति भेटिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भित्र रहेका जलविद्युत सहितका आयोजनाहरुकै कारण बाहिरी जिल्लाबाट समेत आवतजावत हुदाँ जोखिम धेरै छ ।गाउँघरमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी बढन थालेकाले लक्षण देखिएका सबैले कोरोना परीक्षण गराउन र खोप अभियानमा समेत सहभागि हुन र अनिवार्य मास्क लगाउन तथा स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

Leave a Reply