बेनी नगरपालिकामा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि १५ माघसम्म विद्यालय बन्द गरिने भएको छ । बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी बिहिबारदेखि विद्यालय बन्द गर्ने निर्णय भएको हो । नगरभित्रकै विद्यालयमा कोरोना संक्रमण फैलिएपछि चेनब्रेक गर्न पठनपाठन बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो।

‘कोरोना संक्रमण रोक्नका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ,‘अभिभावकलाई बालबालिकालाई घरबाहिर जान नदिन समेत अपिल गछौं’ ढकालले भन्नुभयो । बैठकमा मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल,नगरका वडा अध्यक्ष सहित सरोकारवाला निकायहरूका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

यसैबीच जारी खोप अभियानलाई निरन्तरता दिने र छुटेका र दोस्रो डोज लगाउन बाँकी रहेकालाई समेत खोप अभियानमा सहभागी हुन अपिल गरिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी बढन थालेकाले लक्षण देखिएका सबैले कोरोना परीक्षण गराउन र खोप अभियानमा समेत सहभागि हुन र अनिवार्य मास्क लगाउन तथा स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

Leave a Reply