म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख पुख्यौली घर भई हाल युकेमा बसोबास गर्दै आएकी नायिका दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् ।

विश्वकै किर्तिमानी आरोही म्याग्दीकै निर्मल पूर्जाको कम्पनी इलाइट एक्सपीडिसन्सले आवश्यक प्रक्रियाहरु गरिरहेको छ ।यसअघि ८ हजार १६३ मिटर अग्लो मनासलु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न जान लागेको समेत बताएकी छन् । उनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने बताउँदै एउटा सन्देश प्रवाह गर्न समेत आरोहणको तयारीमा रहेको बताईन् ।

आरोहण निजी खर्चमा भएपनि आरोहणमा प्रायोजक बन्न चाहनेलाई स्वागत गदैं उक्त बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्टलाई सहयोग गर्ने बताईन् । उनले गोफण्डमीमा अलग–अलग पेज पनि बनाइसकेकी छिन् ।

हङकङमा जन्मेर कहिले नेपाल, कहिले ब्रुनाइ हुँदै सन् २००० देखि बेलायतमा बसोबास गर्दै आएकी पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । त्यो वर्ष उनले अर्जेण्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउण्ट अकोनकागुवा चढिन्। त्यसयता हरेक वर्ष एउटा हिमाल चढ्ने उनको योजना कोभिड महामारीले रोकेको पुनले बताइन ।

बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत दीयाले व्यक्तिगत सौख पूरा गर्न मात्र होइन नर्सहरुको मानसिक स्वास्थ्यसित पनि जोडेकी छिन् ।नेपाल जाँदा बाबासित बज्यै भेट्न म्याग्दी शिख गइरहने दीयालाई गाउँघर प्यारो लाग्थ्यो । शिख गाउँबाट आँखैमा टाँिसन आउने धवलागिरी, निलगिरी, अन्नपूर्ण हिमालको मोह जागेको हो । विहान उठ्ने वित्तिकै हिमालबाट आउने चिसो वतासले पुनको मनमा सितलता मात्र दिएन, हिमाल चढ्न सक्छु भन्ने तातो उर्जा दिन्थ्यो ।

कोरोना महामारी सुरु भएदेखि आफू कतै नगएको र पैसा बचत भएको उनले जनाइन् । त्यही बचत भएको पैसाबाट हिमाल चढ्न लागेको दीयाको कथन छ । उनले पर्वतारोहण आफ्नो पेशा भएको समेत बताइन् । सातै महादेशका हिमाल चढ्ने र वर्षमा एउटा हिमाल आरोहणको योजना रहेको उनको तयारी छ ।

उनले अर्जेण्टिनाको हिमाल र नेपालकै मनासलुको चुचुरो समेत टेक्न पुगिन् । हिमाल चढेपछिको आनन्दका बारेमा उनी भन्छिन्, “शुरुमा सक्दिनँ होला जस्तो लाग्छ तर शिखरमा पुगेपछि प्राप्त हुने सुख वर्णन गर्न सकिँदैन ।”मनासलु हिमाल आरोहणका बारेमा पनि अर्कै कथा छ ।

सन् २०१६ मा ‘मन्त्र’ चलचित्रको छायाँकनका लागि उनी गोरखाको सामागाउँ पुगेकी थिइन् । मनासलुको काखमा रहेको त्यो गाउँ पुग्दा उनले कहिल्यै त्यो हिमाल चढिएला भनेर सोचेकी पनि थिइनन् ।

सुटिङ हुँदै गर्दा ‘मनासलु हिमाल चढ्न जापानी टोली आएको छ रे’ भन्ने हल्ला सुन्दा पनि उनलाई कुनै वास्ता थिएन । तर सन् २०१९ मा उनी कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाइ) को टोलीमा सामेल भएर मनासलु चढेर आइन् ।

वीरविक्रम, मिस्टर झोले, ह्याप्पी डेज, दयारानी, मन्त्र लगायतका फिल्ममा अभिनय गरिसकेकी उनलाई सोधियो, “भविष्यमा पर्वतारोहणलाई पेशा बनाउने सोच पो छ कि ?” जवाफमा उनले भनिन्, “पर्वतारोहण मेरो सौख मात्र हो ।” नर्सको पेशा, अभिनय र पर्वतारोहणको सौख । हालसम्म तीनवटै कुरा सन्तुलनमा चलिरहेको र तीन वटै विधालाई एकसाथ बढाउने उनको योजना छ । यो समाचार बेलायतबाट प्रकाशित हुने वि नेपालीमा नरेश खपाङ्गी मगरले लेखेका छन् ।

 

दीयालाई सहयोग गर्न इच्छुक महानुभावहरुले 

यदि चिल्ड्रेन एण्ड युथ फर्स्टका लागि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोस् 

यदि एनएचएस च्यारिटी टुगेदरलाई सहयोग गर्न चाहनुहुन्छ भने  यहाँ क्लीक गर्नुहोस् 

यदि कोलचेष्टर अस्पताललाई सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोस् 

Leave a Reply