म्याग्दी जिल्लाको अति विकट मानिने धवलागिरी गाउँपालिका–१,गूर्जामा बाख्लो हिमपातका कारण आवतजावत बन्द भएको छ । समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा पुग्ने जंगलमा जमेको हिउँ र निरन्तर भइरहेको हिमपातले लुलाङ हुदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग पूर्णरुपमा ठप्प भएको हो।

हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पुरै वडा यातायात सम्पर्क बिच्छेद भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । गएको पुष १३ गते परेको हिउँ पग्लिन नपाउँदै पुषको अन्तिम साता र यसै हप्तादेखि निरन्तर परेको हिउँ जमेर पैदलमार्गमा समस्या भएपनि तत्काल खाद्यान्न, औषधी लगायतको आपतकालिन आवश्यकताको अभाव नभएको पनि सिकिस्त बिरामी भएमा हेलिकप्टरबाटै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

गाउँपालिकाको वडा नं १ गूर्जा र वडा नं २ लुलाङको सिमाना पर्ने देउरालीमा करिव तीन फिट हिमपात भएको छ ।देउराली गूर्जा गाउँ जोड्ने घना जंगल हो । गुर्जाको जनकल्याण माबीमा सरकारले कोरोना फैलिएपछि बन्द गर्ने निर्णय गर्नुअघिनै हिमपातका कारण पठनपाठन रोकिएको थियो भने वडा,गाउँपालिका, प्रदेश र संघीय सरकारले गुर्जामा सञ्चालन गरेका योजना कार्यान्वयन प्रभाबित भएको छ ।

अनुकुल मौषम नभएसम्म हिउँलाई काट्दै आपतकालिन् ट्याक बनाउन समेत सम्भव नभएको बताइएको छ। ढोरपाटन शिकार आरक्ष अन्तरगत पर्ने गूर्जाबाट बागलुङ र रुकुम जिल्ला जोड्ने बाटो समेत सञ्चालनमा नभएपछि हिउँले गाउँलेलाई नाकाबन्दी गरेजस्तै स्थानीयको भनाई छ । गूर्जामा हिमपातले आवतजावतमा समस्या हुने भएकाले स्थानीयले तीनमहिनालाई पुग्ने खाद्यान्न अगाडी नै ढुवानी गर्ने गरेका छन् । हिमपातले मंसिर देखि माघ महिनासम्म बालबालिका, बृद्धबृद्धालाई सास्ती हुने गरेको छ । यसैबीच हिमपहिरोले गूर्जाको सुकेलोट्नेमा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको शब अझै फेला परेको छैन् ।

Leave a Reply