म्याग्दी नदीमा आएको बाढीको कटानले जोखिमयुक्त बेनी नगरपालिका-४ स्थित उपल्लो तातोपानी बजार उच्च जोखिममा परेपनि नियन्त्रणको काम सुरु नभएपछि स्थानीयबासी आक्रोशित भएका छन् ।

प्राकृतिक उपचारस्थलका रुपमा परिचित तातोपानीको मसारमा नदी नियन्त्रण लागि बजेटको व्यवस्थापन नभएपछि स्थानीय यूवाले राजनीतिक दलका गतिविधि बहिस्कारको निर्णय गरेको हो ।

जिल्लाका राजनीतिक दल, तथा नदी नियन्त्रणमा काम गर्ने सरकारी निकाय, स्थानीय तहलाई नदी नियन्त्रणका लागि बजेट माग्दा समेत बेवास्ता भएपछि स्थानीय हटस्प्रिङ यूवा क्लवले बैठक बसेर दलका कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको क्लवका सदस्य दिपेश केसीले बताउनुभयो ।

बाढीले सिंगो तातोपानी बजार र सरस्वती मावि उच्च जोखिममा परेपनि सरकारी निकायबाट बजेट विनियोजन सहित संरक्षणमा कुनै चासो नदेखाएको स्थानीयको भनँई छ। ‘अब पनि संरक्षणमा ध्यान नदिए अर्को बर्खामा क्षतीको कल्पना पनि गर्न सकिदैन,‘अब विभिन्न आन्दोलनको तयारीमा छौ’ क्लव अध्यक्ष पदम बानियाँले भन्नुभयो ।

हिउँदमा नदीको सतह घटेको समयमा बजेट विनियोजन नहुदाँ काम नभएको अवस्थामा बर्खाको समयमा हतार–हतारमा आएपनि काम गर्न सकस हुने भन्दै माघ महिनाभित्र स्रोतको ब्यवस्थापन गर्न समेत स्थानीयले अनुरोध गरेका छन् । नदी कटानको समस्याका बारेमा जिल्लामा आएका ठूला राजनीतिक दलका केन्द्रियस्तरका नेताहरुलाई अवलोकन गर्न अनुरोध गर्दा समेत समय ब्यवस्थापन गर्न आनकानी गरेको यूवाहरुको दुखेसो छ ।

गएको जेठ देखि भदौ महिनासम्म परेको वर्षाका कारण नदी कटानबाट दुई वटा घर भत्किएका र १८ परिवार विस्थापित भएका भने करिब दुई सय घर कटानको जोखिममा छन् । जिल्लाभित्र अन्य तटिय क्षेत्रमा विनियोजन भएको बजेट अनुसार काम समेत भएको छैन् ।

 

Leave a Reply