पछिल्लो समय म्याग्दीमा कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । पहिलो र दोस्रो लहरमा भन्दा तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा बेनी अस्पतालमा मेडिकल सुपरिटेन्डेण्ट सहित २३ जना स्वास्थ्यकर्मी संक्रमित भ्एका छन् । चिकित्सक, स्टाफ नर्सलगायत ठूलो संख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि आइतबारदेखि एक साताका लागि बहिरङ्ग सेवा (ओपीडी) बन्द गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा गण्डकी प्रदेशका ११ जिल्लामा कास्की र तनहुँ पछि सबैभन्दा धेरै संक्रमति म्याग्दीमा छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्क्रामक तथा सरुवा रोग अस्पताल र बेनी अस्पतालमा सेवा समेत प्रभावित भएको निर्देशनलायले जनाएको छ । बेनी अस्पतालमा कार्यरत चिकित्सक सहित सङ्क्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ ।

अस्पतालले भोली आइतबार देखि शुक्रबारसम्म अस्पतालमा कोरोनासँग लक्षण मिल्ने बिरामीलाई बिश्रामस्थलमा फिबर क्लिनिक सञ्चालन गर्ने निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. जितेन्द्र कँडेलले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न केही कठिनाइ भए पनि सेवानै रोकिने अवस्था हालसम्म नरहेकाले कोरोनाको लक्षण र जटिल समस्या भएका बिरामीलाई अस्पतालमा सेवा प्रवाह गरिने छ । कोरोना संक्रमणबाट जोगिएका चिकित्सक र स्वास्थ्यकर्मीको कार्यतालिमा बनाएर नै सेवा दिइने प्रमुख डा. कँडेलले जानकारी दिनुभयो ।

Leave a Reply