तस्वीर सौजन्य : सन्दिप शर्मा

म्याग्दी जिल्लाको बेनी नगरपालिका-१,रत्नेचौरको तोरीबारीको सर्वत्र चर्चा भएपछि पर्यटकीय विकास गर्न पहल सुरू भएको छ । तोरीबारीमा रमाउन दैनिक सयौंको सख्यामा आन्तरिक पर्यटक पुगेपछि फेसबुक, टीकटकजस्ता सामाजिक संजालमा भाइरल बनिरहेको रत्नेचौरमा १० करोड लागतमा भ्यू टावर निर्माण गर्न पहल सुरु भएको हो ।

जगतगुरु हिमालयन बाबाको पहलमा रत्नेचौरको सल्लाघारी डाँडामा टावर निर्माणको योजना अघि बढाइएको भानु माविका प्रधानाध्यापक भरत खत्रीले बेनीअनलाइनलाई बताए ‘अर्को बर्षसम्म यहाँ पर्यटकलाई थप उत्साह थपिने योजना आउने छ, ‘तीन महिनाभित्र प्रस्ताव पत्र पेश हुने भएको छ’प्रअ खत्रीले भने ।

उनका अनुसार कोरोनाभाइरस महामारीको परिस्थिती सामान्य बनेपछि संघीय तथा प्रदेशस्थित विभागीय मन्त्रीलाई बोलाएर परियोजना अगाडी बढाइने छ । संघीय र प्रदेशका मन्त्रीहरु नै रत्नेचौर आउने तयारी रहेको अवस्थामा कोरोनाले बाधक बनेको र कोरोना संक्रमणको अवस्था सामान्य भएमा स्थलगत रुपमै आएर पर्यटनको गुरुयोजनाका घोषणा हुने छ ।

उनका अनुसार अहिले भ्यू टावरसहित पर्यटन विकासका अन्य योजनाको प्रस्तावको ढाँचा बनिरहेको छ । जगतगुरु हिमालयन बाबाले पनि आफ्नो पहलमा भ्यू टावर बनाउने र भानु उच्च माविमा संस्कृतिको नियमित पठनपाठनको पहल सुरु भएको बताए ।सल्लाघारी डाँडामा भ्यू टावर बनाए धौलागिरी श्रृंखलाको दृश्यावलोकनसहित म्याग्दी, बागलुङ र पर्वतलाई पनि नियाल्न सकिने आशा हिमालयन बाबाले लिएका छन् ।

आगामी साता रत्नेचौर पुगेर उनले भ्यू टावर निर्माण थलोको अवलोकन गर्नेछन् । छिमेकी बागलुङसँग सिमाना जोडिएको रत्नेचौरको तोरीबोरी र त्यहाँको सौन्दर्य सामाजिक संजालसहित मूलधारका मिडियामा पनि चर्चित भएका छन् । सामाजिक सञ्चालमा राजनितिज्ञ, पत्रकार, फिल्म निर्माता लगायत उच्च पदस्थहरुले तोरीबारीमा रमाउने चाहना रहेको बताउने गरेको रत्नेचौर स्थायी घरभई हाल काठमाण्डौमा पत्रकारिता गरिरहेका विष्णु शर्माले बताए ।

बालबालिका देखि बुढापाकासम्म रत्नेचौरको फाँटमा पुगेर दैनिक तोरीबारीलाई टीकटक, इन्स्टाग्राममा कैद गर्न व्यस्त देखिन्छन् । भाइरल बनेको रत्नेचौर गाउँले ट्वीटरमा समेत चर्चा बटुलेको छ । रत्नेचौरमा तोरीबारी सहित आसपासका पर्यटकीय गन्तब्यलाई लक्षित गरी केही फिल्म निर्माताले छायांकन योजना समेत बनाएका छन् । बेनी नगरपालिका भित्रको समथर भूभाग भएको क्षेत्रको रुपमा समेत चिनिन्छ । रत्नेचौरमा पछिल्लो समय क्षेत्रीयस्तरको रंगशाला तयार भएको छ भने बागलुङको कुँडुलेसँग जोड्ने लामो झोलुंगे पुलको निर्माण सुरु भएको छ ।

चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौं अग्लो धौलागिरि हिमालको दृष्यसँगै समथर फाँटको पहेँलपुर तोरीले स्थानीयको ब्यापारमा समेत सघाएको छ । रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्ड अन्तरगत ९ सय मिटरको कालोपत्रे सडकमा रत्नेचौर र उपल्लाचौरका करिब ५ घरधुरीले तोरी खेती गरेका छन् । नेपालमा पाईने दुई रंगको तोरीमध्ये म्याग्दीका पहेंलो तोरी खेती हुन्छ । पहेंलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्र हुन्छ ।

 

 

Leave a Reply