Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

यस्ताे छ निम्स दाइ र मिङ्‍मा ग्याल्जेको टोलीको केटू आरोहण-कथा

अन्धकार रातमा मिङ्‌मा ग्याल्जे शेर्पाले जाडोले थरथर कामेको आफ्नो टाउकोमा भएको हेडल्याम्प मिलाउन सकिरहेका थिएनन्। भुवादारी गह्रौं ज्याकेटको मुनि अर्को ज्याकेटको मुनि दुई तहको भित्री लुगा लगाएका उनले सास फेर्न सहज होस् भनेर दुई बोतल अक्सिजन बोकेका थिए।

आरोहणको अहिलेसम्मको अनुभवमा उनले यस्तो हिमपात र आँधीको सामना गर्नुपरेको थिएन। यस पटक त उनलाई अर्कै ग्रहबाट आए जस्तो मुटु छेड्ने जाडो भयो। आफ्नो शरीरले काम गर्न छोडे जस्तो अनुभव भयो।

शरीरको देब्रेतर्फ प्रहार भइरहेको हावाको प्रत्येक झोंक्काले लगाएको कपडा छेड्दै चिसोले सुइरो रोपे सरह भइरहेको थियो। उनको दाहिने खुट्टाको अवस्था बिग्रँदै गएको थियो। खुट्टा झमझम गर्दै निदाएको थियो, जुन हिउँले शरीर खाएको गम्भीर लक्षण हो। शरीरले मुख्य भागमा रक्तसञ्चार गर्न सहायक अङ्गलाई बलिदान दिइरहेको अवस्थाको सङ्केत हो यो भन्ने उनले बुझेका थिए।

उनले ‘मृत्यु क्षेत्र’ भनिने खतरनाक ठाउँ पार गर्नै बाँकी छँदै यो सब भइरहेको थियो। आठ हजार मिटर (२६,२४७ फिट) को क्षेत्र जहाँ आरोहीहरूलाई अक्सिजनका कमीका कारणले भ्रम हुने गर्छ, फोक्सोमा पानी जम्ने गर्छ र आत्मसुरक्षाको हुटहुटी धरमराउँछ। उनी त्यही क्षेत्रमा पुगेका थिए।

मिङ्‌मा ग्याल्जेले आफ्नो वायरलेस रेडियोको स्वीच घुमाए। ‘दावातेन्जिङ, दावातेन्जिङ,’ उनले रेडियोमा बोले। उनको सम्बोधनको प्रत्युत्तर आएन, मात्र हावाको झाेंक्का आइरह्यो। उनले सोचे, शायद साथीहरू आफ्नै काममा केन्द्रित होलान् वा पनि कुनै दुःखद अवस्थाबाट गुज्रिरहेका  होलान्।

गर्मी याममा पनि २८ हजार दुई सय ५१ फिट उचाइ भएको संसारको दोस्रो अग्लो शिखर केटू घातक हिमालमध्ये पर्छ। यो हिमशिखर सगरमाथाभन्दा दुई फुटबल मैदान जति होचो भए पनि यसको आरोहण गर्न निपुण आरोहण शैली आवश्यक पर्छ। र, यसको आरोहणमा सानोभन्दा सानो गल्ती गर्ने पनि छूट छैन।सन् १९५३ मा केटू सफल आरोहणपछि अमेरिकी आरोही जर्ज बेलले भनेका थिए– यो जङ्गली हिमाल हो, यसले तपाईंलाई मार्न खोज्छ।

बेलको सो उपमा पुष्टि भएको प्रतीत हुन्छ, किनभने केटुमा प्रत्येक चार आरोहीले सफल आरोहण गर्दा अर्को एक जनाको मृत्यु भएको छ।

हाल, पृथ्वीको सबैभन्दा छोटो दिन बितेपछिको चार सातामा उत्तरायण हुँदै परिक्रम गरेको यस ग्रहमा न्यानो घामको किरण दुर्लभ छ र यहाँको अवस्था ग्रहमै कठोर छ। कठ्याङ्ग्रिंदो चिसोमा यहाँको तापक्रम माइनस ८० डिग्री फरेनहाइटसम्म पुग्न सक्छ, जुन तापक्रम मङ्गल ग्रहको हाराहारीको हो।

हिउँको चपरामा गह्रौं पाइला जबर्जस्ती अघि बढाएर तङ्ग्रिने प्रयासमा लागेका उनलाई के थाहा थियो भने उनका केही टोली सदस्यले सहज आरोहणका लागि हिमाली पाखोमा डोरी, किलाकाँटा र अन्य औजारको सहायताले आरोहण मार्ग बनाउँदै थिए।

धेरै अनुभवी आरोहीका लागि पनि हिउँदमा केटूको आरोहण गर्नु पागलपन सरह हो। यसअघि गरिएका ६ वटा प्रयासमा आरोहीहरू शिखरको छेउसम्म पुग्न सकेका थिएनन्। केटूमा सामाना गर्नुपर्ने चुनौती धेरै थिए; अप्रत्याशित हिमआँधीले आरोहीलाई डोरीबाट फुत्काएर एकै निमेषमा उडाइदिन सक्थ्यो, निरन्तर खसिरहने चट्टान र हिउँका ढिक्का गोलाबारुद जत्तिकै थिए, फोक्सो रित्तो र दिमाग खलबल्याउने चिसो सिरेटो चलिरहेको थियो।

दृढ र अनुभवी टोली पनि यस्तो क्रूर परिस्थितिमा धरमराउन सक्थे। परिस्थितिको दबाब र सम्भावित खतराहरूले गर्दा उनीहरू द्वन्द्वमा पर्ने र नेतृत्वमा चुक्ने गर्छन्।

सन् २०२० को अन्तिम दिनमा झण्डै ६० जना आरोही केटू हिमालको काखमा आइपुगेका थिए। पाकिस्तानको काराकोरम पर्वत श्रृङ्खलाको गोडविन अस्टिन ग्लेसियरमा आइपुगेका उनीहरू सबैले उचाइको अन्तिम विजयलाई जित्ने आकाङ्क्षा राखेका थिए। र, यो काम अहिलेसम्म भएमध्ये कठिनतम थियो।

तर, मिङ्‌मा ग्याल्जे र अन्य नौ जना नेपाली सहकर्मीलाई यो आरोहण व्यक्तिगत यात्राभन्दा पनि माथिको कुरा थियो।

यो उनीहरूले पाएको एउटा यस्तो मौका हो जसले उच्च हिमशिखरका कारण परिचित नेपालीलाई एक पटक फेरि प्रमाणित गर्नेछ। र, यो काम जसलाई धेरैले असम्भव ठानिरहेका छन्।जसै मिङ्‌मा ग्याल्जेले आफ्नो अवस्थाको अवलोकन गरे, उनलाई लाग्यो- मोहनी लगाउने केटूको शिखर आफ्नो क्षमताभित्र छैन।

हिउँले शरीर खायो भने के परिणाम आउनेछ भन्ने उनले बुझेका थिए। उनी जस्तै उनका पिता पनि आरोहण सहयोगी थिए। सगरमाथा आरोहणका क्रममा विदेशी आरोहीको बूटको तुना बाँधिदिन पन्जा फुकालेका वेला उनका दुई वटा औंला हिउँले खाइदिएको थियो।

मिङ्‌माले पनि सोचे, यदि उनको टोलीको कुनै एक सदस्यले हात वा ज्यान नै गुमाउनुपर्‍यो भने के गर्ने? के शिखर आरोहणको मूल्य यत्ति नै हो त?

Nirmal Purja and Mingma David at the Annapurna summit

मिङ्‌मा ग्याल्जे तथा आरोहण दलका सदस्य पनि आसन्न जोखिमबारे जानकार छन्। हड्डी नै कटकटाउने चिसोमा उनीहरू सबैले सोचेको कुरा एउटै छ। सन् २०२० सम्म पर्वतारोहणका कीर्तिमानी उपलब्धिहरू अब विगतका कुरा हुनेछन्।

बितेको शताब्दीको मध्यसम्ममा आठ हजार मिटरमाथिका १४ वटा हिमश्रृङ्खलाको सफल आरोहण सम्पन्न भइसकेको थियो। शुरूमा नेपालमा रहेको अन्नपूर्ण पहिलो हिमशिखरको सन् १९५० मा सफल आरोहण भएको थियो। त्यसपछि सगरमाथाको र सन् १९५३ मा पाकिस्तानमा रहेको नाङ्गा पर्वतको सफल आरोहण भएको थियो। सन् १९६४ मा तिब्बतमा रहेको सिसापाङ्माको सफल आरोहणपछि अन्य सबै उच्च हिमशिखरको क्रमशः आरोहण गरियो। यो आरोहण राष्ट्रियताको प्रतिस्पर्धी दौड सरह थियो र सबै उच्च हिमाल एशिया महादेशमा पर्ने भए पनि युरोपेली आरोहीले नै अधिकांश सफल आरोहणको बाजी मारे।

यद्यपि, प्रत्येक आरोहण दल स्थानीय जातीय समूहमा भर परेको थियो, जसमा शेर्पा, तिब्बती र बाल्टिस पनि थिए। तिनले आरोहणमा आवश्यक सामग्रीको भारीलाई आधार शिविरसम्म पुर्‍याएका थिए। आरोहणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने यी समुदायको योगदानले इतिहासका पुस्तकमा स्थान पाएका छैनन्।

सबै उच्च हिमशिखरको सफल आरोहण भएपछि पोलिस आरोही अन्ड्रेज जावादाले नयाँ चुनौतीलाई स्वीकार गरे। सबै उच्च हिमशिखर गर्मी यामको उपयुक्त वातावरणमा आरोहण गरिएको थियो। उनले के विचार लिए भने सामान्यतया आरोहणका लागि उपयुक्त नमानिने हिउँदमा आरोहण गर्नु पो चुनौतीपूर्ण हुनेछ।


उनले नेतृत्व गरेको आरोहण दलका दुई सदस्य यो चुनौतीलाई चिर्न सन् १९८० मा पहिलो पटक हिउँदमा सगरमाथा आरोहण गर्न कस्सिए र आखिरमा पोल्यान्डले कीर्तिमानी आरोहणको एउटा इतिहास बनायो।

एक एक गरेर सबै हिमालको हिउँदे आरोहण सम्पन्न भयो, तर पाकिस्तानको हिमशिखर भने अझै आरोहण गर्न बाँकी नै थियो। त्यसका लागि २१औं शताब्दीलाई नै कुर्नुपर्ने भयो।

आठ डिग्री अक्षांशमा रहेको काराकोरम हिमश्रृङ्खलाको नामले चिनिने त्यो शिखर हिउँदमा बढी नै चिसो र आँधीमय हुन्छ। ३१औं पटकको प्रयासपछि मात्र सन् २०१६ मा नाङ्गा पर्वतमाथि सफल आरोहण भएको थियो। तर, केटूमाथिको हिउँदे आरोहण बाँकी नै थियो।

सर्वोच्च शिखर सगरमाथाको मात्र चर्चा चुलिए पनि आरोहीहरू केटूलाई चुनौतीपूर्ण शिखर मान्छन्। यसो हुनुको एउटा कारण यो अत्यन्तै दुर्गम हुनु पनि हो। जब सन् १८५६ मा ब्रिटिश सर्भे टोलीले काराकोरमको उचाइ नाप्यो, आफूले सर्भे गरेका गन्तव्यलाई स्थानीय नाम दिन थाल्यो। उदाहरणका लागि काराकोरम पहिलोको मासरब्रुमको स्थानीय नामले परिचित थियो। तर, नजिकैको गाउँ अस्कोलबाट पनि काराकोरम पहिलो नदेखिने हुँदा त्यस शिखरको भने नामकरण गरिएको थिएन।

उबडखाबड भूभागमा चार दिनको यात्रापछि दक्षिणतिरबाट केटूको दृश्य देखियो, यसको पिरामिड आकार स्वर्गतिर सोझिएको एउटा वाण सरह थियो। आरोहीहरूले यसको ठाडो थुम्कोलाई याद गरिहाले, जुन शिखर नजिकै छ, जहाँ हुने कुनै पनि गल्तीले घातक परिणाम निम्त्याउन सक्थ्यो।

हिमाल चढ्दा लगाइने काँडे जुत्ताको उल्झन वा असुरक्षित स्थानमा गल्तीले टेकियो भने हजारौं फिटमुनिको हिमनदीमा बजारिने सम्भावना हुन्छ। त्यसमाथि हिउँदमा त गल्तीका लागि झनै कम ठाउँ हुन्छ। त्यस्तो अवस्थामा सफलता वा बाँच्नुको प्रश्न आवश्यक सामग्रीमा निर्भर हुन्छ। त्यसैले त योजना बनाउँदा अवस्था कतिसम्म घातक हुन सक्छ भन्ने सोच्नुपर्ने हुन्छ।

सगरमाथा र केटू जस्ता हिमशिखरको आरोहण एकल पङ्क्तिमा विरलै हुन्छ, बरु आरोहण टोलीका सदस्यहरू तल-माथि गरिरहेका हुन्छन्। एक त उनीहरू उचाइसँग अभ्यस्त हुनुपर्ने हुन्छ भने आरोहण सञ्जालको डोरी बिछ्याउन पनि तल-माथि गर्नु आवश्यक छ। यस बाहेक पनि अक्सिजनका बोतल, टेन्ट, डोरी जस्ता अत्यावश्यक सामान भण्डारणका लागि पनि ओहोरदोहोर गर्नुपर्ने हुन्छ।

झिसमिसेमै आधार शिविर छोड्दै नेपाली टोली। प्रतिकूल मौसमका कारण उनीहरू हप्तौंसम्म आधार शिविरको टेन्टमा बस्न बाध्य भएका थिए।

पछिल्लो समय आरोहणको शैली फेरिएको छ। यो काम द्रुत रूपमा हुन थालेको छ। तर, हिउँदमा केटूको आरोहणको आह्वान पुरानै शैलीको सामूहिक प्रयासको आधारमा हुँदै थियो। आरोहीहरूले जोखिमयुक्त क्षेत्रमा धेरै वजनको भारी बोक्नुपर्ने हुँदा सामूहिक कार्यको खाँचो थियो।

पाँच फिट नौ इन्चका मिङ्‌मा ग्याल्जे औसत शेर्पाभन्दा अग्लै हुन्। फराकिलो कुम भएका ३३ वर्षीय मिङ्‌माले कुमसम्म आउने कपाल पालेका छन्। उनलाई देख्दा सन् ७० को दशकको रकस्टारहरूको सम्झना आउँछ।

कुरा गर्ने वेला मान्छेका आँखामा हेर्ने उनको बानी छ र उनी दायाँ-बायाँ कुरा नगरी विषयबारे प्रस्ट बोल्छन्। उनी सगरमाथाको पश्चिमतिरको सानो उपत्यकाको रोल्वालिङमा हुर्किएका हुन्। यो खुम्बु उपत्यका जत्तिको चर्चित नभए पनि यहाँ केही चर्चित माउन्टेन गाइड जन्मिएका छन्।

मिङ्‌मा हिउँदका दिनमा भान्छाको अँगेनो वरिपरि बा तथा काकाहरूले सुनाउने सगरमाथाको कथा सुन्दै हुर्किएका हुन्। उनीहरू सबै माउन्टेन गाइडका रूपमा कार्यरत थिए। उनीहरूले सुनाउने कथा विदेशी आरोहीहरूबारे हुँदनैथ्यो, जो प्रत्येक वर्षामा आरोहणका लागि हुल बाँधेर आउने गर्थे।

बा तथा काकाहरूले सुनाउने कथा त आफ्नै गाउँठाउँका हिरोहरूका बारेमा हुन्थ्यो, जस्तै पासाङल्हामु शेर्पा। जो सन् १९९३ मा सगरमाथा आरोहण गर्ने पहिलो महिला थिइन् र शिखरबाट ओर्लने क्रममा मृत्युवरण गर्न पुगेकी थिइन्।

उनका दाजु लोब्साङ जाङ्मु शेर्पाले सन् १९९६ मा आरोहीहरूलाई सघाएका थिए, र त्यही वर्ष नराम्रो दुर्घटना भएको थियो। जसलाई इन्टु थिन एयर  पुस्तकले चर्चित बनाएको थियो। त्यो दुर्घटनामा बाँँचे पनि त्यसको चार महीनापछि भएको दुर्घटनामा लोब्साङको निधन भयो।

सन् २००६ मा मिङ्‌मा १९ वर्षको हुँदा काकाले उनलाई पहिलो पटक मनास्लुको आरोहणमा लगे। त्यसको एक वर्षमा मिङ्‌माले फ्रान्सेली टोलीलाई सघाउने क्रममा सगरमाथा आरोहण गरे। सन् २०११ मा आइपुग्दा त उनले आफ्नै आरोहण दलको नेतृत्व गर्न थाले।

तर, ती कठिन दिन थिए। सन् २००१ देखि २००८ सम्म नेपालमा माओवादी विद्रोह चर्किएको थियो जसले धेरै आरोही आरोहणका लागि आएनन्। त्यस्तो वेला नेपालमा आरोहणका लागि आउन चाहेने थोरै आरोहीलाई सहयोग गर्ने गाइडहरूमा चर्को प्रतिस्पर्धा हुनु स्वाभाविकै थियो।

सन् २०१९ र २०२० को हिउँदमा मिङ्‌मा ग्याल्जेले अन्य तीन जना आरोही जसले पैसाको बन्दोबस्त गरेका थिए, उनीहरूसँगै केटूको हिउँदे आरोहण अभियान थाले। अमेरिकामा भएको १६ हजार दुई सय ७२ फिटको माउन्ट ह्विट्नीभन्दा १८ सय फिटको उचाइमा रहेको आधार शिविरको जीवन आफैंमा एउटा गम्भीर परीक्षण सरह थियो।

‘यदि हामीले लुगा धोयौं भने सुक्न एक हप्ता लाग्छ, यदि हामीले ग्यास हिटर वा स्टोभमा सुकाएनौं भने,’ उनले आरोहण पत्रकार एलन आर्नेटलाई लेखेका थिए।

क्याम्प-२ मा आँधीले उडाएका सरसामान। तस्वीर: इलिया साइक्याली/नेशनल जियोग्राफिक
जब उनी आधार शिविरमा आइपुगे मिङ्‌मालाई श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण देखियो र उनी आरोहण अभियानबाट अलग भए। तर, उनलाई अर्को आरोहणको प्रयास थाल्न धेरै समय लागेन। तर, त्यही वेला कोभिड-१९ सल्कियो। अनि त हिमालयमा भएका दशौं हजार गाइड, भरिया, कूकहरूले रोजगारी गुमाए।

केटूबाट फर्किएको दुई सातामा मिङ्‌माले वर्ष दिनभरिको गाइडको काम गुमाए। उनको आम्दानीको बाटो नै सुक्यो र आर्थिक उपार्जनका लागि सानो व्यवसाय मात्र बाँकी रह्यो।

उनले केटूको आरोहण प्रयासका लागि केही साथीसँग कुरा गर्न थाले, तर कोही पनि आधार शिविरसम्म पुग्ने अनुमतिका लागि १० हजार अमेरिकी डलर खर्च गर्न तयार हुने कुरा भएन। त्यस बाहेक थप दशौं हजार पनि खर्च हुन सक्थ्यो। मिङ्‌माले आरोहणको विचार त्याग्ने विचार गरे पनि त्यागिहाल्न भने सकेनन्।

तेन्जिङ नोर्गे शेर्पा सगरमाथामा पहिलो पटक पाइला राख्ने दुई आरोहीमध्ये एक थिए। उनको तस्वीर राष्ट्रिय शानका साथ कैयौं नेपालीको घरमा सजिएको छ। उनले न्यूजिल्यान्डका आरोही एडमन्ड हिलरीसँग सफल आरोहण गरेका थिए। अन्य धेरै नेपाली आरोहीले कीर्तिमानी आरोहणको रेकर्ड रोखेको भए पनि ती सबैले आफू एक्लैको प्रयासमा त्यो कीर्तिमान बनाएका थिएनन्।

“जब मैले विकिपेडिया सर्च गरें, आठ हजारमाथिका शिखर आरोहणमा कुनै पनि हिउँदे आरोहणमा नेपाली झण्डा देखिनँ,” मिङ्‌मा ग्याल्जेले भने, “मलाई के लाग्यो भने यदि हामीले केटूको आरोहण त्याग्यौं भने आठ हजारमाथिका सबै शिखरमाथिको विजय गुमाउनेछौं।”

उनलाई के थाहा थियो भने यो कामका लागि पैसा खर्च हुनेवाला छ र त्यसका लागि उनले काठमाडौंमा भएको उनको जग्गा धितो राख्नुपर्ने थियो, जुन उनले आफ्नो कमाइले किनेका थिए।

आरोहणको सबै चाँजोपाँजो मिलाएपछि उनले उच्च हिमाली आरोहणमा दशकौंको अनुभव भएका किलु पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पालाई आफ्नो टोलीमा सहभागी गराए। ती दुवै आरोही उनीभन्दा जेठा थिए र दुवैको घरपरिवार थियो।

तिनको परिवारलाई भने आरोहणको यो योजनाले अत्यायो। “मलाई किलु पेम्बा र दावा तेन्जिङका जहानलाई सम्झाउनै गाह्रो भयो,” अविवाहित मिङ्‌माले भने, “उनीहरू हाम्रा श्रीमान् मरे भने हामी तिम्रो घरमा आएर बस्छौं र तिमीले हामीलाई पाल्नुपर्छ पो भन्छन्। उनीहरूले त्यसो भन्दा म  आत्तिएँ। तनाव भयो,” मिङ्‌माले भने।

फेरि अर्को समस्या पनि थियो। वर्षौंसम्मको निरन्तरको आरोहणको काम र व्यवसायमा व्यस्त भइरहेका मिङ्‌माको पनि पूरै ठीक थिएन । महामारी साम्य होस् भनेर काठमाडौंमा कुरिरहेका वेला परिवारका सदस्यले उनलाई हाइकिङ र साइक्लिङ गर्न सुझाए। “मैले तौल घटाएँ र आफूलाई फेरि चुस्त अनुभव गर्न थालें,” उनले भने।

केटूको आरोहणको लक्ष्य लिने शेर्पा मात्र एक्ला आरोही थिएनन्। सेभेन समिट ट्रेकका सञ्चालक मिङ्‌मा, टासी लाक्पा र छाङदावा शेर्पाले पाकिस्तानमा रहेको हिमशिखर एशियामा अझै खुला रहेको हिमाल भएको महसूस गरिरहेका थिए।

पश्चिमा आरोहण कम्पनीहरूले भन्दा धेरै कम शुल्क लिएर गुणस्तरीय सेवा पुर्‍याउँदै सेभेन समिट ट्रेक्सले शेर्पाहरूद्वारा सञ्चालित एक सफल आरोहण कम्पनीका रूपमा आफूलाई स्थापित गरेको थियो। संस्थाले नियमित रूपमा सगरमाथा आरोहणमा ठूलो कम्पनीको हैसियतमा काम गर्दै आएको थियो।

त्यस वर्षको मार्चमा पहिला कहिल्यै नभएको आरोहणका लागि गरिएका बुकिङ धमाधम रद्द भइरहेका थिए। अनि त्यही वेला सेभेन समिटले आरोहीहरूलाई लक्षित गर्दै एउटा सूचना जारी गर्‍यो। सूचनामा केटूको हिउँदे आरोहणमा कोही इच्छुक छन् कि भनी सोधिएको थियो। सूचना जारी भएको छोटो समयमै रुस, स्पेन, आयरल्यान्ड, टर्की र संयुक्त अधिराज्यका आरोहीहरूले चासो देखाउँदै आरोहण बूक गरे।

हिउँदे पात्रो पल्टिन शुरू गर्दा २१ डिसेम्बर २०२० मा मिङ्‌मा ग्याल्जे र उनका दुई सहयात्री केटूको यात्रामा निस्किए। धेरै दिनपछि उनीहरूले २२ हजार ६ सय फिटको उचाइमा आफ्नो क्याम्प खडा गरे। सो क्याम्प कालो पिरामिड नाम दिइएको ठाडो हिउँको ढिस्कोमुनि थियो, जुन आरोहणको पहिलो प्राविधिक चुनौतीपूर्ण स्थान थियो।

केटूको अन्तिम कठिन कुइनेटो पार गरेपछि शिखरतर्फ अघि बढ्दै नेपाली टोली। तस्वीर: मिङ्मा डेभिड शेर्पा/नेशनल जियोग्राफिक
क्याम्प ३ मा पुग्न दिनभरिको आरोहण आवश्यक थियो, त्यो पनि गह्रौं भारी बोकेर। तर, त्यो वेला उनीहरूले एउटा समस्या सामना गरे, डोरीको अभाव।

मिङ्‌मालाई तल्लो शिविरका क्याम्पमा आरोहीहरू ‘एक्लाइमटाइज’ गरिरहेका छन् भन्ने थाहा थियो। जसमा सबै आरोही नेपाली मात्र भएको पूर्व बिट्रिश लाहुरे निर्मल पुर्जा ‘निम्स’ को टोली पनि एक थियो।

मिङ्‌मा र निम्सको यसअघि छोटो भेट भएको थियो। “हामीबीच औपचारिक चिनजान नै भएको थिएन,” मिङ्‌मा ग्याल्जेले भने, “मैले उनीसँग हात मिलाउँदै आफ्नो परिचय दिएको थिएँ। उनको त परिचयको आवश्यकता नै थिएन।”

यो सन् २०१९ को कुरा थियो, जति वेला निम्स ६ महीना ६ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ उच्च हिमशिखर आरोहणको कीर्तिमान पूरा गर्ने क्रममा थिए। उनको प्रयासलाई सञ्चार जगत्‌ले उजागर गरिरहँदा उनी एकाएक सामाजिक सञ्जालमा सबैका प्यारो बन्न पुगेका थिए।

वास्तवमा यी दुवै एकअर्काका प्रतिद्वन्द्वी थिए। दुवै शारीरिक चुस्तताको शिखरमा पुगेका सक्षम नेतृत्वकर्ता थिए। संसारले उनीहरूलाई जोखिमपूर्ण कामको विशेषज्ञका रूपमा चिनेको थियो।

तर, दुवैको शैली भने भिन्न थियो। मिङ्‌मा सौम्य र भद्र देखिन्थे भने निम्स खुला र रमाइलो खालका देखिन्थे। निम्सले त सामाजिक सञ्जालमा केटूको हिउँदे आरोहणमा आफू पहिलो हुने जानकारी गराइसकेका थिए।

***

प्रतिद्वन्द्विता भए पनि मिङ्‌माले निम्सलाई वायरलेस रेडियोमा उनीसँग जगेडा डोरी छ कि भनेर सोधे। निम्सको टोली भर्खरै मात्रै आएको थियो र उनीहरू उचाइसँग अभ्यस्त बाँकी नै थियो, तैपनि उनीहरूले डोरी माथि ल्याइदिने वचन दिए।

अर्को दिन बिहान ‘कालो पिरामिडे’ थुम्कोको मुनि चिया खाँदै गर्दा दुई टोलीले कुराकारी गर्‍यो। संयोग नै भनौं, दुवै टोलीले आफ्ना विदेशी ग्राहकलाई त्यहाँ ल्याएका थिएनन्। उनीहरू आफैं नै केटूमाथि विजय प्राप्त गर्न चाहन्थे।

भोलिपल्ट सबैजना आराम गर्न आधार शिविर ओर्लिए। खुइलिएको जस्तो देखिने आकाशले हिमनदीको रङलाई पनि छाने जस्तो देखिंदा निरन्तरको हुरीमा फर्फराइरहेको टेन्टमा बरफका टुक्राहरू खसिरहेका थिए।

डिसेम्बरको अन्तिम दिनमा मौसमको भविष्यवाणी पनि आएन। अबको समय भनेको आरामका लागि नै थियो, यदि यस्तो दुर्गम स्थानमा आराम गर्नु कत्तिको सम्भव थियो!

त्यस साँझ निम्स मिङ्‌माको टेन्टमा आए। उनले आफ्नो प्रतिस्पर्धी टोलीलाई नयाँ वर्षको उत्सव मनाउने रमझमको निम्ता दिए। शुरूमा त मिङ्‌माले निम्तो स्वीकार रेनन्। निम्स पनि के कम, उनले मिङ्‌मालाई रमझममा सहभागी हुन सम्झाइबुझाई गर्न दुई जना साथी पठाए।

आरोही पहिरनमा रहेको ३७ वर्षीय निम्सको चिल्ला गाला र पातलो दाह्रीले उनलाई युवा देखाइरहेको थियो। एक पूर्व सैनिक उनी आफूलाई सधैं तम्तयार अवस्थामा रहेकोमा गर्व गर्छन्।

“तपाईंले सेनामा सिक्ने भनेकै त्यही त हो नि साथी,” उनले अङ्ग्रेजी मिसिएको भाषामा भने, “सबै कुराको वैकल्पिक योजना हुन्छ। मेरो त वैकल्पिक योजनाको पनि वैकल्पिक योजना हुन्छ,” उनले भने।

हिउँदमा केटूको पहिलो कीर्तिमानी आरोहणपछि आधार शिविरमा रमाउँदै आरोही। कीर्तिमानी आरोहीहरू (माथिल्लो लहरमा बायाँबाट) पेम्बाछिरी शेर्पा, मिङ्‍मा डेभिड शेर्पा, ग्याल्जे शेर्पा, दावातेम्बा शेर्पा, (दोस्रो लहरमा बायाँबाट) दावातेन्जिङ शेर्पा, निम्स पुर्जा, मिङ्‌मा ग्याल्जे शेर्पा, सोना शेर्पा, कालु पेम्बा शेर्पा र (अघिल्लो लहरमा) मिङ्‌मा तेन्जी शेर्पा।
मिङ्‌मा ग्याल्जेको टोली आइपुग्नासाथ उनले ह्वीस्कीको बोतल खोले। “त्यो बोतल रित्याएपछि हामीलाई रिंगटा लागे जस्तो भयो,” मिङ्‌माले भने, “त्यो सकिएपछि निम्सले अर्को बोतल खोल्यो। त्यसपछि अर्को अनि अर्को बोतल पनि खोलियो।” हामी सबै नाचगान गर्दै कुराकानी गर्दै मौसमबारे गफिएर बस्यौं।

निम्स शेर्पा जातिका थिएनन्, उनी नेपालको मध्यपहाडी भेगको मगर जातिका हुन्। उनी होचो ठाउँको चितवनमा हुर्किएका हुन्। चितवन हिमालका लागि होइन कि हात्ती र बाघका लागि प्रसिद्ध छ। उनी १८ वर्षको हुँदा ब्रिटिश गोर्खामा भर्ती भए। ब्रिटिश गोर्खा अर्थात् नेपाली सैनिक मात्रको ब्रिटिश रेजिमेन्ट जुन ब्रिटिश साम्राज्यको अवशेषका रूपमा अझै रहेको छ।

माउन्टेन गाइड बन्नु बाहेक ब्रिटिश गोर्खामा सहभागी हुन पाउनु महत्त्वाकांक्षी नेपाली पुरुषहरूका लागि उपलब्ध राम्रो अवसरमध्येको एक हो। ब्रिटिश गोर्खाले बेलायती सैनिक बराबरको सेवासुविधा पाउँछन् र बेलायतको नागरिकता पाउने अवसर पनि पाउनेछन्।

ब्रिटिश गोर्खामा ६ वर्ष काम गरिसकेपछि, निम्सले विशेष जहाज सेवामा सरुवा भए, जुन अमेरिकाको नेभी सिल सरहको एकाइ हो। “हामी यति भन्छौं कि मलाई संवेदनशील क्षेत्रमा तैनाथ गरिएको थियो,” उनले सन् २०१९ को एक अन्तर्वार्तामा भनेका थिए।

उनले आफ्नै सैन्य अनुभवबारे हालै प्रकाशित पुस्तकमा सविस्तार बताएका छन्, जहाँ उनले आफ्नो अनुहारमा गोली लाग्दाको गोली हानाहानको अवस्थाबारे बयान गरेका छन्। “विशेष एकाइमा तपाईंले गरिरहनुभएको कामले तपाईंलाई विजयी अनुभूत गराउँछ,” निम्सले भने, “तर जब म हिमालमा गएँ, मलाई के ज्ञान भयो भने प्रकृति अथाह छ।”

आरोहणमा लाग्ने सोच बनाएर सन् २०१९ मा उनले सेनाको जागीर छोडिदिए र आफ्नो स्वप्निल योजनालाई पछ्याउन चाहे। उनको सपना थियो– आठ हजारमाथिका १४ हिमशिखर सात महीनामा चढिसक्ने।

उनको जस्तो चुनौतीपूर्ण लक्ष्य यसअघि कसैले लिएकै थिएन, कसैले सोचेकै थिएनन्।

आफ्नो योजनालाई उनले ‘प्रोजेक्ट पोसिबल’ नाम दिए र आफ्नो आरोहणका लागि आवश्यक काम गर्न तथा केही आरोहीलाई आफूसँग आरोहण गर्न व्यस्त बनाए।

एउटा शिखरको सफल आरोहणपछि लगत्तै उनी अर्को आरोहणमा सक्रिय भइहाल्थे। उच्च हिमाली अवस्थासँग अभ्यस्त हुन कतिपय अवस्थामा त एक ठाउँबाट अर्को ठाउँसम्म हेलिकोप्टरमा जान्थे। उनले कति ठाउँमा तयार अवस्थामा रहेको बोतलको अक्सिजनको प्रयोग गरे भने अन्य समूहले बनाएको डोरीमा निर्भर रहेर पनि आरोहण पूरा गरे। उनको यस कामलाई आलोचकहरूले उनको उपलब्धिलाई सस्तो बनाइदिएको तर्क पनि गरे।

अहिले एक वर्षपछि उनको केटू आरोहण दलमा एक अनुभवी आरोही पनि सम्मिलित थिए, उनी हुन्– मिङ्‌मा डेभिड शेर्पा। ३१ वर्षीय शेर्पा निम्सको मुख्य सहायक थिए।

नयाँ समूहमा रहेको पुराना मान्छे प्रेमछिरी शेर्पा थिए। रोल्वालिङका प्रेमछिरीको सगरमाथा आरोहणमा २० वर्षको अनुभव छ। त्यस्तै, निम्सको टोलीमा भएका कान्छा सदस्य हुन्, ग्याल्जेन शेर्पा। २९ वर्षीय ग्याल्जेन हँसीमजाकको खानी नै हुन्। उनी ठट्यौली गर्ने कलामा निपुण छन्।

नयाँ वर्षको रमझम चलिरहँदा ग्याल्जेनका ठट्यौलीमा सबै रमाइरहेको वेला दुई समूहबीच एउटा विचार फुरिरहेको थियो– किन सँगै आरोहण नगर्ने?

प्रेमले सम्झिए, आखिरमा दुवै टोलीलाई फाइदा नै हुने कुरा हो। “यसले काम छिटो हुने थियो। र, हामीले सँगै काम गर्न थाल्यौं। हामीलाई सँगै काम गर्न कुनै गाह्रो भएन, किनभने हामी सबै नेपाली नै त थियौं,” उनले भने।

आरोहणमा आबद्ध शेर्पाहरू उनीहरूको सहजताका लागि प्रसिद्ध छन्, र उनीहरू बौद्ध दर्शनको जीवनका आरोह–अवरोहप्रति अनासक्त देखिन्छन्। तर, आरोहणको यो पेशाले कडा प्रहार पनि गर्छ।

शारीरिक पीडा त छँदै छ, हिउँले खाने, जोर्नीहरूको दुखाइ, र ढाड दुख्ने समस्या उस्तै। अनि अर्को कुरा उनीहरू सबैले कोही न कोही साथी वा आफन्तलाई आरोहणका क्रममा गुमाएका छन्। बितेको सात वर्ष त ज्यादै नै क्रूर सावित भयो।

सन् २०१४ को हिमपहिरोमा १६ जना अनुभवी शेर्पाहरूको मृत्यु भयो र आरोहण अभियान नै रोक्का गरियो। त्यसपछिको वर्ष आएको भूकम्पले सगरमाथा आधार शिविरमा १९ जनाको मृत्यु भयो भने भूकम्पका कारण देशभरका झण्डै नौ हजार मानिसको ज्यान गएको थियो।

अब अहिले महामारीका कारण उनीहरूले एक वर्षदेखि काम पाउन सकेका छैनन्। अनि यो अपजस नपाउने कामको झ्याउलोबारे पनि उनीहरू जानकार छन्।

“केही विदेशीले मात्रै हाम्रो प्रयासको सराहना गर्छन्, नत्र त प्रायःले हामीलाई नाम–पहिचानविहीन उच्च हिमाली भरिया मात्र ठान्ने वा हाम्रो अस्तित्व नै नभएको जस्तो बहाना गर्छन्,” मिङ्‌मा ग्याल्जे भन्छन्, “उनीहरूले लेखेको हामीले पढ्दै पढ्दैनौं भन्ठान्दा रहेछन्।”र, विदेशी कम्पनीहरूको दबदबा रहेको गाइडको व्यवसायमा नेपालीहरूको सहभागिता बढेपछि तनाव पनि चुलिएको छ। “हामी भनेको यहींका स्थानीय हौं, र हामीले विदेशी गाइडले भन्दा धेरै जानेका हुन्छौं,” मिङ्‌मा ग्याल्जे भन्छन्।

नेपालीहरूका बीचमा कडा प्रतिस्पर्धा छ भन्ने उनले बुझेका छन्। भन्छन्, “तर ९० प्रतिशत विदेशी आरोहीले विदेशी कम्पनीलाई मात्र विश्वास गर्छन्।”

केटूको हिउँदे आरोहणले नेपालीहरू आरोहणमा सहभागी हुने मात्रै होइन, आफैं नै टोलीको नेतृत्व गर्न सक्षम भन्ने सन्देश जानेछ। “हामी आफ्नै लागि एउटा इतिहास बनाउन चाहन्छौं,” निम्सले भने।

नयाँ वर्षको दिनमा मिङ्‌मा ब्युँझँदा अघिल्लो दिनको ह्वीस्कीले टाउको भारी बनाइरहेको पाए। तापक्रम शून्य डिग्रीभन्दा मुनि भए पनि उनी स्लीपिङ ब्यागभित्र नुघुस्रीकन निदाएका रहेछन्। ब्युँझिन नपाउँदै उनले वायरलेस रेडियोमा निम्सको आवाज सुने, निम्सले चिया खान बेलाए। आरोहणबारे थप सल्लाह गर्ने उनीहरूको योजना थियो।

शेर्पाहरूमा के धारणा हुन्छ भने, हिमालले आरोहीको समूहलाई शिखरमा जान र विना कुनै क्षति फर्कन अनुमति दिन्छ। त्यही भएर आरोहणअघि हिमाली देवतालाई आरोहण र सुरक्षित यात्राका लागि पूजा गरिन्छ।

तर, सन् २०२१ को पहिलो दुई सातामा के कुरा स्पष्ट देखिएको थियो भने केटूले आफ्नो शिखर वरपर कुनै मानवलाई चाहेको छैन। आधार शिविरमा सय माइल प्रति घण्टामा आँधी चलिरहेको र तापक्रम शून्यभन्दा कममा झर्‍यो, त्यसो भएपछि सबैजना टेन्टभित्र बस्न बाध्य भए।

 

जब हावाहुरी मत्थर भयो, छिटै निम्सको टोली क्याम्प दुईमा पुगेर सरसामग्री जाँच गर्‍यो। “यहाँ त भग्नावशेषको जस्तो दृश्य छ,” निम्सले इन्स्टाग्राममा लेखे। त्यहाँ उनीहरूले स्लीपिङ ब्याग, ब्याट्रीले तताउन मिल्ने तलुवा भएको बूट, जगेडा पन्जा, चश्मा राखेका थिए, तर ती सबै आँधीले उडाएको थियो।

मौसम भविष्यवाणी अनुसार जनवरी १४ देखि आँधी मत्थर हुने देखिन्थ्यो। उता आधार शिविरमा थप सामानको जोहो गरियो। सेभेन समिट ट्रेकका सोनाम शेर्पा सामान ल्याउने काममा लागे।

निम्स र मिङ्‌मा ग्याल्जे भने कसरी आरोहण गर्ने भन्ने विषयमा योजना बनाउन लागे। २५ हजार फिटमा भएको क्याम्प चारमा कठिनतापूर्वक रात बिताउनुभन्दा क्याम्प ३ बाट एकै दिनमा शिखरमा पुग्ने योजना नेपालीहरूले बनाए। यदि सबै कुरा राम्रो हुने हो भने उनीहरूले १५ जनवरीमा शिखरमा पुग्ने देखियो।

पछि आधार शिविरमा भएका केही आरोहीले सबै नेपाली मात्र सम्मिलित आरोहणको योजनालाई गुपचूप राखेकोमा उनीहरूको आलोचना गरे, जुन आलोचनालाई मिङ्‌मा ग्याल्जे अस्वीकार गर्दैनन्। “विश्वकप फूटबल चलिरहेको वेला पनि के तपाईं आफ्नो देशले हारोस् भन्ने चाहनुहुन्छ?” उनले एक्सप्लोर वेबसँग वार्तामा भने, “कसैले पनि आफ्नो देश हारोस् भन्ने चाहँदैन नि। अनि कोच र खेलाडीले आफ्नो रणनीतिलाई गुपचूप राख्छन् कि राख्दैनन्। केटूमा यस पटक ठीक त्यस्तै भएको हो।”

१३ तारिखको साँझसम्म सबै नेपाली २३ हजार फिटमा पुगे। उनीहरूको गोप्यता भङ्ग भयो। उनीहरूको योजना सबैले थाहा पाए र उनीहरूलाई पछ्याउँदै अरू समूह हिमाल उक्लन थाले। भोलिपल्ट बिहान कडा हावाहुरी चलिरहेकाले अरू टोली क्याम्प २ मा आराम गरिरहेका थिए। त्यो वेला नेपाली टोली भने क्याम्प ३ को मुनि पुग्यो।

“मौसमले ठूलो खेल खेल्यो,” मिङ्‌मा ग्याल्जेले भने, “क्याम्प ३ मुनि ठूलो हावाहुरी चलिरहेको थियो भने क्याम्प ३ माथि हावाहुरी ठ्याम्मै केही थिएन।”

१५ तारिखमा मिङ्‌मा ग्याल्जे र अन्य तीन जनाले क्याम्प ३ भन्दा माथि डोरी मिलाउन थाले। कुम भनिने ठाउँनिर उनीहरूले के देखे भने अन्तहीन हिउँको पहरो मात्र छ। साथै, उनीहरूले हिउँका चिराहरूको पनि सामना गरे जसले गर्दा उनीहरूलाई बाटो पहिल्याउन घण्टौं लाग्यो।

यो यस्तो कठिन अवस्था थियो जहाँ आरोहीहरू हतोत्साही हुन्छन्, मन खिन्न हुन्छ, थकित गलित महसूस हुन्छ, र आरोहण नै त्यागिदिऊँ जस्तो हुन्छ।

आखिरमा उनीहरूले एउटा कडा हिउँको थुम्को भेटे, अनि शिखरको कुमसम्म बाटो मिलाउँदै गए। उनीहरू क्याम्प ३ मा पुगे। सबै जना एकीकृत भए। “त्यहाँको चिसो त अर्के खालको थियो,” ग्याल्जेन भन्छन्, “अत्यन्तै धरै प्यास लाग्ने। खाएको खाना पचाउन पनि उस्तै सकस।”

१३ गतेको मध्यरातपछि टोलीले क्याम्प ३ छोड्ने विचार गर्‍यो। त्यो हिमालमा आरोहणलाई जारी राख्न प्रत्येक आरोहीले अक्सिजन मास्क लगाए, सिवाय निम्स । निम्सले आफ्ना आलोचकलाई जवाफ दिन बौलाहा हिमाल विना अक्सिजन आरोहण गर्ने अठोट लिएका थिए। एउटा कीर्तिमानी आरोहणमाथि अर्को कीर्तिमान।

“म पूर्ण रूपमा एक्लाइमटाइज भइसकेको थिइनँ। मेरा तीन औंला हिउँले लाटो बनाइसकेको थियो,” निम्सले भने, “यदि तपाईंलाई आफ्नो क्षमता थाहा भएन भने तपाईं अरू सबैलाई पनि ध्वस्त बनाइदिन सक्नुहुन्छ।”

सानो समूहमा आरोहीहरूले मिङ्‌मा ग्याल्जे शेर्पाले बिछ्याएको डोरी हुँदै पाइला अघि बढाउँदै लगे। उनको कडा मिहिनेतले आखिरमा प्रतिफल निकाली छोड्यो। अघिल्लो दिन आठ घण्टा लागेको काम आज जम्मा तीन घण्टामा सकियो, अन्धकार थियो, तर त्यही वेला हावाहुरी आउन थाल्यो।

***

एक्लै र हिउँले शरीर कक्रक्क पारिरहेको अवस्थामा मिङ्‌मा ग्याल्जेको दिमागमा आरोहण नै त्यागिदिने हो कि भन्ने विचार मडारिन थाल्यो। वायरलेस रेडियोमा कसैले पनि उनलाई उत्तर नदिएपछि उनले आफ्नो अन्तिम उपायलाई उपयोग गरे– शरीरलाई तातो पार्न हिउँमा खुट्टाले हानिरहें। “नभन्दै यसले काम गर्‍यो,” उनले भने।

बल्लतल्ल घाम उदायो र हिमालको कुम खण्डमा भएका आरोहीका शरीरमा घामको न्यानो अनुभूति गर्न पाए। आँधी पनि रोकियो, स्थिर हिउँदे तापक्रम बाहेक दिन राम्रो थियो। अझै अन्तिम पहरो पार गर्न बाँकी नै थियो।

त्यसको पारि शिखरमा जाने सहज ओरालो थियो, यदि हिउँको एउटा खण्ड मात्रै खस्यो र त्यहाँ एउटा मात्र आरोही थिए भने पनि त्यसमुनिका सबैलाई आघात पुग्न सक्थ्यो। आरोहीहरूलाई सचेत गराउन ठूल्ठूला आकारका बरफका ढिक्का हिउँपहरोको मुनिको भागमा यत्रतत्र फैलिएका थिए।

मिङ्‌मा तेञ्जि र दावा तेन्जिङले टोलीलाई कठिन मार्गबाट अघि बढाए। पछि आउनेहरूलाई आउन सजिलो होस् भनेर उनीहरूले डोरी पनि मिलाउँदै गए। उनीहरू माथि चढ्दै जाँदा साना ढुङ्गाहरू कतिपय आरोहीको हेल्मेटमा ठोक्किइरहे। तर, अघि बढ्नु मात्र एक विकल्प थियो।

जसै समूह शिखरको नजिकै पुग्यो, न मिङ्‌मा न त निम्स नै अग्रपङ्क्तिमा थिए। त्यो काम मिङ्‌मा तेन्जीको काँधमा आइपरेको थियो। ३६ वर्षीय तेन्जी डोरी बिछ्याउने काममा सिपालु थिए। पछिल्लो केही घण्टामा उनले टोलीको नेतृत्व गरेका थिए र अरूभन्दा अघि नै शिखरमा पुग्न सक्थे। तर, शिखरको केही तल नै उनले साथीहरूलाई कुरे।

एकपछि अर्को गर्दै आरोहीहरू आउन थाले। निम्सले भने बहुत सङ्घर्ष गर्नुपर्‍यो। उच्च हिमाली यात्रामा उनले प्रत्येक पाइलामा दुई वा तीन सास लिए। जसै घामका किरणहरू विश्वको दोस्रो अग्लो हिमशिखरमा टिलपिलाउन थाले, आरोहीहरू एउटै समूहमा एकत्रित भए।

शिखरमा एकै पटक पुग्ने निम्सको प्रस्तावित विचार थियो। जसै १० जना आरोही एकत्रित भए सबैजनाले एकअर्काको हातमा हात बाँधेर अघि बढे। बिस्तारै उनीहरूले आवाज सुने, त्यो सपनाको प्रतिध्वनि जस्तो थियो र सबैको मुखमा राष्ट्रिय गान गुन्जियोः

सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली …

(नेशनल  जियोग्राफिक मा १३ जनवरी, २०२२ मा प्रकाशित लेखको भावानुवाद महेश्वर आचार्यले गरेका हुन्।)
थप सामग्री : Source: himalkhabar.com

 

Exit mobile version