चार वर्षीय छोरासहित बेपत्ता बागलुङको गलकोट नगरपालिका-७ मल्मकी धनकुमारी बस्नेत विक भारतको राजधानी नयाँ दिल्लीमा भेटिएकी छिन्।

घरदेखि हराएको दुई सातापछि विक आइतबार दिल्लीमा भेटिएको उनका श्रीमान् राजेन्द्रले जानकारी दिए।

श्रीमती र छोरा सक्षमलाई लिएर आफू नेपाल फर्किरहेको उनले बताए। खोजी गर्दा भारत गएको जानकारी पाएपछि राजेन्द्र श्रीमती र छोरा लिन सोही दिन दिल्ली पुगेका थिए।

दिल्लीको एक कोठामा अपरिचित महिलासँग बसेको अवस्थामा भेटाएपछि त्यहाँबाट छुटाएर ल्याएको राजेन्द्रले बताए।

‘आमाछोरा दिल्लीमा सकुशल भेटिए, अहिले साथमा लिएर घर फर्कंदैछु,’ उनले भने, ‘कपिलवस्तु घर भएकी महिलाले काममा लगाइदिन्छु भनेर दिल्लीसम्म पुर्‍याएकी रहिछन्।’

गत पुस २६ गते छोरासहित आफ्नो लुगाफाटो लिएर घरबाट निस्केकी विक आँगा खेतबाट जीप चढी बुटवल र त्यहाँबाट दिल्ली पुगेको पाइएको छ। राजेन्द्रले बेपत्ता आमाछोराको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवेदन दिएका थिए।

बेपत्ता भएको दुई साता बित्न लाग्दासमेत स्थिति पत्ता लाग्न नसकेपछि परिवारजन चिन्तामा थिए। टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागिसमेत जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो। घरबाट गएको साँझ श्रीमान्सँग कुराकानी हुँदा भाइकोमा आएकी छु भनेपछि विकको मोबाइल एकाएक बन्द भएको थियो। त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन्।

पछि फेसबुक म्यासेन्जरमा कुराकानी हुँदा श्रीमतीले आफूहरू दिल्लीमा रहेको बताएपछि खोजीमा गएको राजेन्द्रले बताए। रासस

Leave a Reply