म्याग्दीको जनसंख्या एक लाख सात हजार ३७२
बेनी । पछिल्लो दश बर्षको अबधीमा म्याग्दीको जनसंख्या घटेको छ । केन्द्रिय तथ्याङ बिभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बि.स. २०६८ को तुलनामा ०.५४ प्रतिशतले म्याग्दीको जनसंख्या घटेको हो ।

बि.स. २०६८ मा एक लाख १३ हजार ६४१ जना जनसंख्या भएको म्याग्दीमा २०७८ कात्तिक र मंसिर महिनामा गरिएको जनगणनाको नतिजा अनुसार घटेर एक लाख सात हजार ३७२ जना भएको हो ।

म्याग्दीमा महिलाको जनसंख्या ५४ हजार ८१८ र पुरुषको संख्या ५२ हजार ५५४ जना भएको छ । २५ हजार ३७४ घरधुरीमा २९ हजार २४२ परिवार संख्याको बसोबास छ । ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ ।

सात हजार २०२ घर र नौ हजार ४६५ परिवार भएको बेनी नगरपालिकामा १७ हजार ४९० महिला र १५ हजार ५७२ पुरुष गरि कुल ३३ हजार ०६२ जनसंख्या छ । तीन हजार ३४० घरमा तीन हजार ६१८ परिवारको बसोबास भएको अन्नपूर्ण गाउँपालिकाको जनसंख्या १२ हजार ३५१ जना छ ।

तीन हजार ८ घरमा तीन हजार १९२ परिवार रहेको धवलागिरीमा १२ हजार ६०४, चार हजार ३३६ घर र चार हजार ८१८ परिवार भएको मालिकाको जनसंख्या १८ हजार ३४६, तीन हजार ६९९ घर र तीन हजार ९३४ परिवार भएको मंगलाको १४ हजार ७७२ र तीन हजार ७६७ घर, चार हजार १७४ परिवार भएको रघुगंगाको जनसंख्या १४ हजार २३२ जना छ ।

जन्मदर घट्नु, बसाइसराई गरेर जाने बढी, आउने कम, बैदेशिक रोजगार र नेपाली नागरिकता त्यागेर बिदेशी नागरिक बन्ने बढ्दो क्रमले म्याग्दीको जनसंख्या घटेको बताइएको छ । तत्कालीन जिल्ला जनजणना अधिकारी घनश्याम सापकोटाले जनगणनाको बिस्तृत बिबरण अर्को चरणमा सार्वजनिक हुने बताउनुभयो ।

२०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म देशभर १२ औ जनगणना भएको थियो । म्याग्दीमा १८६ जना गणक र ४७ जना सुपरीबेक्षकहरु जनगणनामा परिचालन भएका थिए । संघीय ब्यवस्था लागू भएपछि पहिलो पटक जनणना भएको हो । file photo/Benionline

Leave a Reply