राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल निर्माण शुरू भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका लागि विक्रम संवत् २०७८ असार २९ गते बीओकेआई/हिमालयन जेभीसँग भ्याटसहित ८ करोड ३० लाख ६८ लाख ४७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

विभागको पश्चिम सेक्टर कार्यालयका इन्जिनीयर आशिक रिजालले ठेकेदारले निर्माण सामग्री जुटाएर पुल निर्माणका लागि प्रारम्भिक चरणको काम शुरू गरेको जानकारी दिए । ‘११ मिटर चौडाइको हुने पुलको डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफैं डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको हो,’ उनले भने, ‘विक्रम संवत् २०८० चैत २५
गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’

विक्रम संवत् २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा १ जना मानिस, ११ वटा घर, बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । ५ वर्षअघि बगाएको बेलिब्रिजको विकल्पमा पक्की पुल निर्माण हुन लागेको हो ।

पक्की पुलसँगै गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय म्याग्दीले पनि बेगखोलामा ८० मिटर लामो झोलुङ्गे पुल निर्माण शुरू गरेको छ । गत कात्तिक तेस्रो हप्ता करसहित २९ लाख ३८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताए ।

Leave a Reply