म्याग्दीमा पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टबाट संक्रमण हुने संक्रमितको संख्यामा क्रमशः वृद्धि हुँदै गएको हो ।

आज (शुक्रबार)सम्म जिल्लामा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या कुल ३ सय १० जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शुक्रबार मात्रै ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ५८ जनामा एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको छ भने ८ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

हाल जिल्लाभर सक्रिय संक्रमित ३ सय १० जना रहेकोमा उनीहरु सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जारी गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी तीनजना संक्रमित जिल्ला बाहिर रहेका छन्भने शुक्रबारै २० जना निको भएर आइसोलेसनमुक्त भएका छन् । जिल्लामा अस्पतालको संख्या १ रहेकोमा ५० वटा बेड छन्भने अक्सिजनको सिलिण्डर २ सय ८० रहेको छ । त्यस्तै आईसीयुको बेड संख्या ५, जिल्लामा एम्बुलेन्स ३ वटा र भेन्टीलेटरको संख्या ४ रहेको छ ।

म्याग्दीमा कोरोना परीक्षण गरिएको कुल संख्याको ५० प्रतिशतमा संक्रमण पुष्टि भएकाले कोरोना भाइरस लाग्नबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । म्याग्दीमा कोरोना विरुद्धको पहिलो खोपको मात्रा लगाउनेका संख्या ८२ हजार १ सय १३, दोस्रो मात्रा लगाउने ६६ हजार ४ सय ७७ जना र बुस्टर डोजको मात्रा लगाउनेहरु हालसम्म १ हजार ५ सय ९८ जना रहेका छन् ।

Leave a Reply