पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, दानाका निर्मल पूर्जा ‘निम्स’ बलिउड अभिनेता सलमान खानलाई उपहारस्वरुप आफ्नो बायोग्राफी पुस्तक बियोन्ड पसिबल हस्तान्तरण गरेका छन् । विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएर संसारमै चर्चित पर्वतारोही बनेका पूर्जाले अभिनेता खानलाई नेपालको भ्रमणको समेत निम्तो दिएका छन् ।

आफ्नो जीवनी बारेको पुस्तक हस्तान्तरण गर्दै आरोही पूर्जाले इन्स्टाग्राममा निर्मलले लेखेका छन्, ‘सलमान भाइसँगै आनन्ददायक भेटघाट रह्यो । मेरो देशमा चाँडै भेट हुनेछ ।’ उनले आफ्नो आधिकारिक फेसबुक पेजमा समेत अभिनेता खानसँगको तस्वीर राखेर निकट भविस्यमै नेपालमा भेट्ने बताएका छन् ।

पूर्जाले नेपालको पर्यटन क्षेत्रलाई सघाउन यसअगाडी विश्वचर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्जलाई पनि निम्तो दिएका थिए । पूर्जाले आफूमाथि नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स ः नथिङ इज इम्पोसिबल’ ले विश्वभरका चर्चित ब्यक्तिको समेत ध्यान तानेको थियो । पुस्तक र नेटफिल्क्सले निर्माण गरेको फिल्म सर्वाािधक रुचाइएकाले समेत पूर्जा ब्यस्त छन् ।

आरोही पूर्जाले अन्य आरोहीले सकभर तोड्नै नसक्ने गरी राखेको किर्तिमानीका कारण कलाकारदेखि विभिन्न देशका उच्च पदस्थ अधिकारीले समेत भेट्न रुचाउने गरेका छन् । पूर्जाले पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन (जाडो याम) मा सफल आरोहण गरेर विश्वमै अर्को चमत्कारी किर्तिमानी समेत कायम गरेका थिए । उनले जाडो सिजनमा माइनस ८० डिग्रीको तापक्रम र १ सय माइल प्रतिघण्टाको बायू गतिजस्ता प्रतिकुल अवस्थामा समेत आरोहण गरेपछि सर्वत्र चर्चा भएको थियो ।

दुई बर्ष अगाडी आफ्नै जन्मभूमिमा रहेको अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पूर्जाले सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) मा विना अक्सिजन आरोहण गरेका थिए। बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत रहँदा पूर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन्।

सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् । गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए ।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन् । पूर्जाको पछिल्लो समय दैनिकी नै हिमाल आरोहण तथा आरोहीको ब्यवस्थापनमा बित्ने गरेको छ । आरोही पूर्जाको सहयोगमा म्याग्देली समेत हिमाल आरोहणमा आर्कषित भएका छन् ।

Leave a Reply