---Advertisement---

माघ मसान्तसम्म म्याग्दीका विद्यालय बन्द हुने

On: January 29, 2022 2:09 PM
Follow Us:

म्याग्दीका शैक्षिक संस्था आगामी माघ मसान्तसम्म बन्द गर्ने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले निर्णय गरेको छ । शनिबार बसेको भर्चुअल बैठकमा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको डिसिसिएमसीले जनाएको छ ।

डिसिसिएमसीका संयोजक एवम् प्रजिअ प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले जिल्लाभित्र कोरोना संक्रमतिको संख्या ३ सय नाघेको र बालबालिका समेत जोखिममा रहेको अवस्थामा सीसीएमसीको निर्णय अनुसार नै जिल्लाभित्र भौतिक रुपमा पठनपाठन बन्द गरिएको बताए।

‘बालबालिकामा समेत कोरोनाको लक्षण देखिएको छ,‘भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस गरिएको छ’ प्रजिअ रानाले भने । उनले माघ महिनापछिको अवस्थालाई मध्यनजर गरी अर्को निर्णय गरिने छ । पठनपाठन बन्द भएको अवस्थामा बालबालिकालाई शैक्षिक गतिविधिमै ब्यस्त हुने गरी कार्यतालिका बनाउन स्थानीय तहमार्फत विद्यालयलाई समेत सघाउन अनुरोध गरिएको छ ।

त्यस्तै १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई विद्यालयमा खोप लगाउने अभियानलाई निरन्तरता दिइएको छ । यसैबीच बैठकले जिल्लाभित्रका तातोपानी कुण्डमा स्नान गर्न समेत माघ मसान्तसम्म रोक लगाएको छ । ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिमलाई रोक्न जिल्लाभित्र अनिवार्य मास्क र खोप अभियानमा सहभागी हुन समेत अनुरोध गरिएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।