बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष स्थापना भएको छ । दुई वटै कक्षको शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गर्नुभयो । प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले कार्यालयको आन्तरिक स्रोत, बेनी नगरपालिकाको वडा नम्बर ७ को कार्यालय र दाताहरुको सहयोग जुटाएर प्रहरी कर्मचारीलाई परिचालन गरेर कक्ष बनाएको बताउनुभयो ।

हिरासत अगाडी थुनुवा भेटघाट कक्ष बनाइएको छ । थुनुवालाई भेट्न आउनेहरुलाई सहज हुने प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताउनुभयो । यसअघि खुल्ला आकाशमुनी बस्ने गरेका थिए ।

झरीमा छाता ओड्नुपर्ने र गर्मीमा घामले पोल्ने समस्या हटेको छ । यसैगरी प्रहरी कार्यालयको आन्तरिक बैठक सञ्चालनका लागि ब्यारेकको तला थपेर हल बनाइएको प्रनाउ राईले बताउनुभयो । बहुउद्देश्यीय सो सभाहललाई बैठकका अतिरिक्त आवासमा पनि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

उद्घाटन पछि प्रजिअ रानाले प्रहरी कर्मचारीको क्षमता अभिबृद्धी, योजना निर्माण र थुनुवा भेटघाटका लागि आउने सेवाग्राहीलाई नयाँ बनेका पुर्बाधारले सहज हुने बताउनुभयो । बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सुरक्षा ब्यवस्थालाई प्रभावकारी बनाउन पुर्बाधार बनाउन सघाएको बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक राईको अध्यक्षता, प्रहरी निरीक्षक गुरुङको स्वागत र प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिब सन्तोष गौतमले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

 

Leave a Reply