म्याग्दी जिल्लाको बेनी नगरपालिका–१,रत्नेचौरमा शनिबार आन्तरिक पर्यटकको ठुलो भिड लागेको छ । रत्नेचौरमा कालोपत्रे सडक आसपासमा पहेँलपुर फुलेको तोरीबारीमा म्याग्दी र छिमेकी जिल्लासंगै विभिन्न स्थानबाट पर्यटकहरु ठुलो संख्या पुगेपछि सवारीसाधन र पर्यटकले सडक नै जाम भएको छ ।

ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिमका बिच तोरीबारीमा शनिबारअहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा घुम्न आएको स्थानीय भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताए । ‘भिडभाडले सडक नै जाम भएको छ,‘तोरीबारीले घुम्न आउने ठाउँ बनेको छ’ प्रअ खत्रीले भने ।

उनका अनुसार सवारीराधन र पैदलमार्गमार्फत तोरीबारीमा घुम्न आएकाहरुले रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्ड अन्तरगत ९ सय मिटरको कालोपत्रे सडक जाम भएको थियो । यूवायूवतीदेखि बृद्धबृद्धासम्म परिवारसँगै तोरीबारीमा आएका छन् । एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको छ ।

अहिले स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम, सामाजिक संजाल फेसबुक, टिकटक, युटुब लगाएतमा रत्नेचौरको फोटो, भिडियो भाइरल भईरहेको छ । सञ्चारमाध्य तथा सामाजिक सञ्जालबाट तोरीबारीको प्रचारप्रसार भईरहेको स्थानीय यूवा सन्तोष महतको भनाई छ । शनिबार मात्रै करिब एक हजारको हाराहारीमा आन्तरिक पर्यटक तोरीबारीमा पुगेका थिए । बेनी–बागलुङ सडकखण्डबाट भित्रिनेहरुको दृष्यले स्थानीय समेत उत्साहित छन् ।

चारैतिर पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौं अग्लो धौलागिरि सहितका हिमालको दृष्यसँगै समथर फाँटको पहेँलपुर तोरीबारीमा जनजातिको भेषभुषा लगाएर समेत तस्वीर खिच्नेको भ्याईनभ्याई छ ।

स्थानीय सहकारीले निश्चित शुल्क लिएर पोशाक भाडामा दिएको छ भने घुम्न आउनेहरुबाट ब्यापार समेत बढेको छ । तोरीमा रमाउनै आसपासका क्षेत्रमा बनभोज सहित हालै खुलेका होटलको कारोबार समेत बढेको छ । तोरीबारीमा गएर फोटो र भिडियो खिच्दा क्षती हुने भएकाले स्थानीयले सडकबाटै तस्वीर खिच्न समेत अनुरोध गर्ने गरेका छन् ।

रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले आन्तरिक पर्यटकलाई ब्यवस्थित बनाउन रत्नेचौरमा विभिन्न पूर्वाधारहरु थपिएको बताए । उनले मानव निर्मित पोखरी, निर्मााण्धिन अवस्थामा रहेको झोलुङे पुलका साथै अन्य संरचनाहरुले समेत पर्यटकलाई आर्कषित गरेको बताए। अघिल्ला बर्षको तुलनामा यसपटक रत्नेचौरको तोरीको चर्चा देशैभरी भएको छ । ड्रोनबाट समेत लिइएका तस्वीर र भिडियो अहिले यूटुव र सामाजिक सञ्जालमा भाइरल छन् ।

रत्नेचौर र उपल्लाचौरका करिब ५ घरधुरीले तोरी खेती गरेका छन् । तोरीबारीले रत्नेचौर कृषि पर्यटनको गन्तब्य बनेकाले स्थानीय तहबाट समेत तोरीको पकेट क्षेत्र बनाउन माग समेत गरेका छन् भने करिब १० करोडको लागतमा भ्यूटावर सहितको पर्यटकीय संरचना बनाउन समेत पहल भइरहेको छ । छिमेकी जिल्ला बागलुङको कुडुले फेदीमा समेत प्रसस्तै तोरी हुन्छ । गाउँबस्तीमा फुलेको तोरीले ग्रामिण सुन्तरतालाई समेत निखार ल्याउने गरेको छ ।
तस्वीर सौजन्य भरत खत्री र कृष्णराज पौडेल

Leave a Reply