उत्तरतर्फ चुलिएका सेताम्य हिमाल हेर्दै रेशमी कपालमा  काइँयाे फेर्नुकाे आनन्द । आहा ! कल्पना गर्नुस् त । वरिपरी घना जङ्गल । सौरका बोट । वन्यजन्तु तथा चराचुरुङ्गीको चहलपहल । नजिकै पानीको कुवा र पोखरी । अनि अलि पर रानीले कपाल कोरेको डिल । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित सौरबोटमा पर्छ रानीले कपाल काेरेकाे डिल । १४ औं शताब्दीताका तत्कालीन राजा दीलिपबम मल्लको धर्मपत्नी (रानी)ले  यही डिलमा बसेर कपाल कोर्ने गरेको हुँदा यस डिलको नाम ‘रानीले कपाल कोर्ने डिल’का रुपमा स्थापित भएको जनविश्वास छ ।

गाजनेका स्थानीय नीलकण्ठ शर्माका अनुसार नेपालमा बाईसे–चौबीसे राज्य कायम रहँदा गाजने गाउँभन्दा माथि ऐतिहासिक डढेकोट दरबार थियो । त्यही दरबारमार्फत ऐतिहासिक पर्वत राज्यको राजकाज सम्हालेका समावंशका तृतीय मल्लराजा दीलिपबम मल्लको दरबारदेखि केही तल सौरबोटमा रहेको पानीको कुवामा राजा दैनिक नित्यकर्मका लागि जाने गर्नुहुन्थ्याे ।

सौरबोटमा रहेको पानीको धारा तथा कुवामा नुहाउन जाने क्रममा रानी पनि राजासङ्गै गएको र कुवाको नजिकै रहेको डिलमा बसेर कपाल कोरेको हुँदा रानीले कपाल कोर्ने डिलको नामले चिनिएको किम्बदन्ती पाइन्छ । रानीले कपाल कोर्ने डिल ऐतिहासिक, पर्यटकीय तथा अत्यन्तै रमणीयस्थलका रुपमा रहेको जगन्नाथ आधारभूत विद्यालय गाजनेका प्रधानाध्यापक समेत रहनुभएका नीलकण्ठ शर्माकाे भनाइ छ ।

ऐतिहासिक डढेकोट दरबार भएकाे ठाउँऐतिहासिक डढेकोट दरबार भएकाे ठाउँ

सौरबोट क्षेत्रमा रानीले कपाल कोर्ने डिलमूनि राजाले घोडा दाउने पाटोका साथै घोडा लुकाउने ओडार पनि रहेको स्थानीयवासी बताउँछन् । दरबारको पानी भर्ने इनारलगायत तत्कालीन दरबारसँग सम्बन्धित अन्य ऐतिहासिक ठाउँहरु पनि यस क्षेत्रमा छन् ।

निकै सुन्दर छ रानीले कपाल कार्ने डिल

निकै सुन्दर छ रानीले कपाल कार्ने डिल ।  एकाबिहानैको सुर्योदय हेर्न पाइने । तलतिर हेर्दा तोरीपानी, नेप्टेचौर र पात्लेखेत गाउँको सुन्दरता । अनि कालीगण्डकी नदीको गहिरो खोंच । आँखै अगाडि देखिन्छन्, धौलागिरि, मानापाथी, नीलगिरि र अन्नपूर्ण । अनि चारैतिर घना जङ्गल र चराचुरुङ्गीको चिरबिर आवाज ।

समुन्द्री सतहदेखि २ हजारभन्दा बढी मिटरको उचाइमा अवस्थित रानीले कपाल कोर्ने डिलबाट म्याग्दीको बेनी नगरपालिका–९, घतान, १० नम्बर वडा पात्लेखेतसहित उत्तरी रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटका साथै राखुपिप्ले, भगवती, दग्नाम, चिमखोला, पाखापानी, कुईनेमङ्गलेको मङ्गले गाउँ देखिन्छ । यसैगरी अन्नपूर्ण गाउँपालिकाको रिम, हिस्तान, राम्चेका साथै पर्वत जिल्लाको जलजला गाउँपालिकाको मल्लाज, सालिजा, लेखफाँट, धाईरिङ तथा पाङ क्षेत्र देखिन्छ । त्यस्तै संसारको सातौं अग्लो चुचुरो धौलागिरी र अन्नपूर्ण रेञ्जसहित मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ ।

 

सौर प्रजातिका बोटबिरुवाहरु धेरै भएका कारण सौरबोट नाम प्रचलित भएको भनाइ छ । सौरबोट क्षेत्रमा पर्यटकीय पूर्वाधारहरु नबन्दा रानीले कपाल कोर्ने डिल अहिले ओझेलमा परेको स्थानीयवासीकाे गुनासाे छ । यति सुन्दर ठाउँ भएर पनि आवश्यक प्रचारप्रसारका साथै भाैतिक पूर्वाधारकाे विकास नहुँदा याे क्षेत्र ओझेलमा परेकाे छ । यहाँ भाैतिक पूर्वाधारकाे विकास गर्नुपर्ने आवश्यकता देखिन्छ ।

ठाउँ ओझेलमा पर्दा बाँझै जमिन

सौरबोट क्षेत्रमा मात्रै १ दर्जनभन्दा बढी स्थानीय व्यक्तिहरुको २ सय रोपनी जग्गा बाँझो छ । मानिसहरु लेकबाट बेंसीतर्फ बसाइसराई गर्ने, गाउँभन्दा सहर, बजारमा बस्न रुचाउने, खेती गरेर खानेभन्दा पनि किनेर खाने जस्ता प्रचलन बढ्दै गएपछि खेतीयोग्य जमिन बाँझै रहन गएको हो ।

पछिल्लो समय स्थानीयले सहर, बजार च्याप्ने र गाउँ नफर्किने जस्ता प्रवृत्तिले पनि वर्षौंदेखि खेतीयोग्य जमिन अनुत्पादक बनेको छ । सौरबोटका ती बाँझै रहेका जग्गाजमिन अहिले घाँसे मैदानमा परिणत भएका छन् । याे क्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा विकास गरेमा यहाँका बाँजा जमिनमा लेकाली अन्न फलाउन सकिन्छ । वर्षौंदेखि बाँझो रहेको सौरबोटको जग्गामा लेकाली उत्पादनहरु मकै, भटमास, आलु, कोदो, गहुँ, जौ, ऊवा, तोरी, फापर लगायतका खाद्यान्न बालीहरु लगाउन सकिन्छ ।

समथर भू–भाग, हिमालको चिसो हावापानी र लेकाली क्षेत्र भएकाले सौरबोटमा कृषिको राम्रो उत्पादन हुने स्थानीयवासीको अनुभव छ । सौरबोटलाई लेकाली उत्पादनको अन्न भण्डारको क्षेत्रका रुपमा पनि विकास गर्न सकिन्छ ।

यतिमात्र हाेइन सौरबोटमा कृषियोग्य खेतीबालीका साथै महत्वपूर्ण जडिबुटी र वनस्पतिहरु पाइन्छन् । बनस्पतिमा सिर्मु, ओखर, हाडेकाफल, फलाट, घयुँरु तथा जडिबुटीतर्फ सतुवा, जटामसी, चिराईतो, सिल्टीम्युर, भुसकेत, टिम्मुरलगायत पाइन्छ । त्यस्तै वन्यजन्तु जनावर तथा पंक्षीहरुमा मृग, बाँदर, चीर, कालीज, काँडेभ्याकुर, सुगालगायत लोपोन्मुख जनावर तथा चराचुरुङ्गीको बासस्थान रहेको छ ।

Leave a Reply