म्याग्दीमा पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टबाट संक्रमण हुने संक्रमितको संख्यामा क्रमशः वृद्धि हुँदै गएको हो ।

आज (शनिबार)सम्म जिल्लामा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या कुल ३ सय ५२ जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शनिबार मात्रै ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ४४ जनामा एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो ।

यसैगरी १० जनाको पीसीआर परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर समेत रहनुभएका सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो । हाल जिल्लाभर सक्रिय संक्रमित ३ सय ५२ जना रहेकोमा उनीहरु सबै अहिले होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जारी गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा अस्पतालको संख्या १ वटा रहेकोमा त्यसमा ५० वटा बेड छन्भने अक्सिजन सिलिण्डरको संख्या २ सय ८० रहेको छ ।

त्यस्तै जिल्लामा आईसीयुको बेड संख्या पाँचवटा, एम्बुलेन्स तीनवटा र भेन्टीलेटरको संख्या चारवटा रहेको छ । म्याग्दीमा कोरोना परीक्षण गरिएको कुल संख्याको ५० प्रतिशतमा संक्रमण पुष्टि भएकाले कोरोना भाइरस लाग्नबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । म्याग्दीमा कोरोना विरुद्धको पहिलो खोपको मात्रा लगाउनेको संख्या ८२ हजार १ सय १३, दोस्रो मात्रा लगाउने ६६ हजार ४ सय ७७ जना र बुस्टर डोजको मात्रा लगाउनेहरु हालसम्म १ हजार ५ सय ९८ जना रहेका छन् ।

Leave a Reply