म्याग्दीको बेनी नगरपालिका-१,रत्नेचौरको तोरीबारीमा घुम्न जानेको अत्याधिक भीड देखिएपछि आइतबारदेखि प्रवेशमा कडाई गरिने भएको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टबाट संक्रमण हुने संक्रमितको संख्यामा क्रमशः वृद्धि हुँदै गएको अवस्थामा तोरीबारीमा थामिनसक्नु भिड देखिएपछि जिल्ला कोभिड ब्यवस्थापन समितिले आइतबारदेखि प्रवेशमा रोक लगाउने तयारी गरेको जनाएको छ ।

शनिबार सडक नै जाम हुने गरी तोरीबारीमा घुम्न गएपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भिडभाड हुने नपाइने नियमको उल्लंघन भएकाले तोरीबारी सहित भिडभाड नियन्त्रणमा प्रहरीलाई परिचालन गरिने बताउनुभयो ।

‘रत्नेचौरमा धेरै भिड भयो भन्ने गुनासो छ,‘कोरोनाको नियम उल्लंघन गर्ने छुट कसैलाई छैन’ प्रजिअ रानाले भन्नुभयो । जिल्लाभित्र कोरोनाको जोखिम धेरै रहेको अवस्थामा बाहिरी जिल्लाबाट घुम्न आउने र जिल्ला भित्रबाटै समुह बनाएर तोरीबारीमा जान थालेपछि जिल्ला प्रहरी कार्यालयमार्फत रत्नेचौर प्रहरी चौकीलाई समेत भिड नियन्त्रणमा थप सक्रिय हुन निर्देशन दिइएको छ ।

जिल्लाभित्रका शैक्षिक संस्थामा भौतिक उपस्थितीले कोरोना संक्रमणको जोखिम भन्दै माघ मसान्तसम्म बन्द गरेको अवस्थामा तोरीबारीमा अधिक भिड भएको भन्दै सामाजिक सञ्जालमा समते आलोचना भएपछि प्रहरीले समेत यूनिट नै खटाएर भिड नियन्त्रण गर्ने तयारी गरेको छ ।

प्रहरी नायव उपरीक्षक श्यामकुमार राईका अनुसार बेनी–बागलुङ सडकबाट नै तोरीबारीमा जान रोक लगाउने र तोरीबारीमा प्रवेश गर्न मिल्ने अन्य नाकामा समेत मोवाईल टोली खटाउने बताउनुभयो।

‘घुम्न पाइने भएपनि यो समय उपयुक्त होइन,‘सबैलाई केही समय घुम्न जाने कार्यक्रम स्थगित गर्न समेत अपिल गछौ’राईले भन्नुभयो । रत्नेचौर प्रहरीले तोरीबारी प्रवेश गर्ने नाकामै प्रवेशमा कडाई गर्न जिल्लाबाट समेत टोली जाने बताइएको छ ।

अहिले स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम, सामाजिक संजाल फेसबुक, टिकटक, युटुब लगाएतमा रत्नेचौरको फोटो, भिडियो भाइरल भईरहेको छ । शनिबार एकाएक पर्यटकको संख्या अत्यधि बढेपछिको अवस्थामा प्रशासनले समेत कडाई गर्न बाध्य भएको छ ।

तोरीबारीमा अन्य दिनको तुलनामा सार्वजनिक विदामा भिड हुने गरेको छ । यता म्याग्दीमा आज (शनिबार)सम्म जिल्लामा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या कुल ३ सय ५२ जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शनिबार मात्रै ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ४४ जनामा एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो । भिडभाडबाट संक्रमणको जोखिम धेरै भएकाले जिल्लामा सावधानी नअपनाए नियन्त्रण बाहिर जाने खतरा रहेको स्वास्थ्यका जानकारहरु बताउँछन् ।

Leave a Reply