म्याग्दीको बेनी नगरपालिका-१,रत्नेचौरको तोरीबारीमा थामिनसक्नु भिडका कारण जिल्ला कोभिड ब्यवस्थापन समितिको समेत आलोचना भएपछि घुम्न जानेलाई रोक्न प्रहरीले बेनीबाटै टोली खटाएको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टबाट संक्रमण हुने संक्रमितको संख्यामा क्रमशः वृद्धि हुँदै गएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बेनीबाटै नै टोली परिचालन गरिएको हो । आइतबार विहान घुम्न गएकालाई समेत फर्काउन थालिएको छ ।

आजदेखि तोरीबारीमा प्रवेश गर्न कडाई गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । ‘यो समयमा तोरीबारी तिर जानु उपयुक्त हुदैन्,‘भिडभाडले कोरोनाको जोखिम बढेको छ’ प्रनाउ राईले भन्नुभयो ।

रत्नेचौरमा रहेको प्रहरी चौकीमा खटिएको टोलीले तोरीबारीको भिड नियन्त्रण गर्न असफल भएको थियो । तोरीबारीमा भिडभाड भएपनि रत्नेचौरका प्रहरीले जिल्लामा समन्वय समेत नगरेको पाइएको छ ।

सवारीसाधन र पैदलमार्गबाट तोरीबारीमा पुगेकाहरुले मास्क समेत नलगाएको देखिएपछि सामाजिक सञ्जालमा कोरोना नियन्त्रणका लागि प्रशासनले जारी गरेको नोटिस कागजमा मात्रै भएके भन्दै टिप्पणी गरिएको थियो । तोरीबारीमा घुम्न आउनेलाई रत्नेचौरबासीले भने स्वागत गरेका छन् ।

तोरीलाई नष्ट नहुने गरी तस्वीर र भिडियो लिन समेत स्थानीयले अनुरोध गर्ने गरेको पाइएको छ । अहिले स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम, सामाजिक संजाल फेसबुक, टिकटक, युटुब लगाएतमा रत्नेचौरको फोटो, भिडियो भाइरल भईरहेको छ ।

हिजो शनिबार तोरीबारीमा थामिनसक्नु भिड भएपछि सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो । जिल्ला कोभिड ब्यवस्थापन समितिले तोरीबारीमा घुम्न जान नदिने गरी स्थानीयतस्तरमै पुगेर सुरक्षाको ब्यवस्था मिलाउन समेत प्रहरीलाई आदेश दिएको छ ।

यता म्याग्दीमा शनिबारसम्म जिल्लामा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या कुल ३ सय ५२ जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शनिबार मात्रै ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply