म्याग्दी जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यसबर्ष जिल्लामा ६ जना नयाँ कुष्ठरोगी भेटिएका छन् ।

६९ औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा गतबर्षका नियमित औषधी सेवन गर्ने ३ र यसबर्ष नयाँ ६ जना गरी ९ जना कुष्ठरोगी पहिचान गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुबेदीले बताउनुभयो ।

जिल्लामा हाल औषधी सेवन गरेका रोगीमा बेनी नगरपालिकामा ३ जना, रघुगंगा गाउँपालिका १ जना, मालिका गापा १ जना र अन्नपूर्ण गापा १ जना रहेका छन् । गत आवमा १ भन्दा बढी कुष्ठरोगी भएको देशैभरका ११ जिल्लामा म्याग्दी समेत परेको छ । म्याग्दीमा अन्य पालिकाको तुलनामा बेनी नगरपालिका उच्च जोखिममा रहेको पाइएको छ ।

गत आवमा निको भएका ९ जना बिरामी नै बेनपाको रहेको सुपरभाइजर सुबेदीको भनाई छ । म्याग्दीमा भेटिएका रोगीको संख्या जनसंख्याको आधारमा गण्डकी प्रदेशमा भित्र कुष्ठरोगका धेरै विरामी भएको जिल्लामा पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशमा १० हजार जनसंख्यामध्ये उपचारमा रहेका जिल्लामा सबैभन्दा धेरै १ दशमलव १८ रहेकोे तथ्याङ्कले देखाएको छ । त्यस्तै गण्डकी प्रदेशमै प्रति १ लाख जनसंख्यामा पत्ता लागेको नयाँ बिरामी दरमा म्याग्दी ६ दशमलव ३३ छ। म्याग्दीका प्रमुख एक नारायण लम्सालले १ प्रतिशतभन्दा माथी कुष्ठरोगी भएको जिल्लालाई जोखिममा राखिएको बताउनुभयो। प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउन समेत लम्सालले अनुरोध गर्नुभयो।

समाजमा बहिस्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामुलक कार्यक्रम सहितका अभियान सञ्चालन गर्न आवश्यक रहेको छ । कतिपय रोगीले सामाजिक बहिस्कार र वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाई छ ।

यसैबीच जिल्ला गतबष्र्र एडिस जातको लामखुट्टेको टोकाइबाट संक्रमण फैलिने डेंगुका २ सय, यसबर्ष ४० जना बिरामी र किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणबाट गतबर्ष ५० जना र यसबर्ष १४ जना पोजेटिभको उपचार गरिएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याम खढ्काले समेत मन्तब्य राख्नुभएको थियो ।

 

Leave a Reply