अवकाश लिएपछि म्याग्दीकी एक स्वास्थ्यकर्मीले म्याग्दी सदरमुकाम बेनीबजारमा धौलागिरी कोसेली घर चलाउँदै आउनुभएको छ ।
स्टाफ नर्सको रुपमा जीवनका तीन दशक भन्दा लामो समय विताएर मिना राम्जालीले रिटायर्ड लाइफमा मेडिकल पसलभन्दा गाउँघरका अर्गानिक बस्तु बिक्री गरेर रहरलाग्दो कमाई गर्नुभएको छ ।
वि.सं. २०७५ मा जिल्ला अस्पताल म्याग्दीमा कार्यरत रहँदा जागिर छोडेर राम्जालीले गाउँघरका उत्पादनसँग बजारका मान्छेलाई जोड्ने काममा ब्यस्त हुनुहुन्छ ।
‘कोसेली घरले मलाई चिनाएको छ अनि कमाई राम्रै छ,‘महिनामा अढाई लाखदेखि तीन लाख रूपैयाँसम्मको व्यापार हुन्छ’ उहाँले भन्नुभयो । बिहान ६ बजेदेखि साँझसम्मै काममै व्यस्त हुदाँ कोरोनाभन्दा अगाडीको जस्तो कमाई नभएपनि सन्तुष्ट रहेको राम्जालीको भनाई छ ।
पसलमा स्थानीय दाल, भटमास, भाँगो, टिम्मुर, मह, घ्यु, मकै, च्याउ, पिठो (फापर, जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो, ढकायो, निगालो टुसाको सुकुटीलगायतका करिब सय थरिका सामान लिन आउनेको दैनिक भिड लाग्छ । स्वदेश तथा विदेशमा समेत अर्गानिक कोसेली जाने गरेको छ ।
म्याग्दी, पवर्त र मुस्ताङका गाउँघरमा उत्पादन भएका अर्गानिक सामानलाई केलाउन, सुकाउन, प्याकेजिङ गर्न र बेच्नमा कर्मचारीसँगै खटिनुहुन्छ । २०७५ सालमा १५ जना साथीहरू मिलेर ७ लाख ५० हजार रुपैयाँमा खोलिएको थियो। साथीहरुले एकल सञ्चालनका लागि अनुरोध गरेपछि वि.सं. २०७६ पुसदेखि उनले कोसेली घरको पुरै स्वामित्व आफैं लिइन्।
अहिले ५० लाख रूपैयाँ लगानी पुगिसकेको छ। मुख्य ग्राहक म्याग्देली नै भएपनि बेनीबजारमा मात्र होइन, पोखरा, काठमाडौंदेखि विदेशसम्म कोसेली घरका सामानका ग्राहक छन् । सुरूमा उनीहरूलाई कोसेली घर चलाउन तत्कालीन मन्त्री नरदेवी पुनले सुझाउनुभएको थियो ।
बेनीमा ‘मिना दिदी’ का रूपमा सम्मानित छिन्। सकारात्मक सोच, इमान्दारी र मिहिनेतले सफलता मिल्ने उहाँको अनुभव छ। बेनीको बैंक रोडमा छ । म्याग्दीको सदरमुकाम बेनीमा करिब आधादर्जन भन्दा बढी कोशेली घर रहेका छन् । अर्गानिक सामानका पारखीहरुलाई कोशेली घरले आर्कषित गर्ने गरेको छ ।
तस्वीर सौजन्य सेतोपाटी