तस्वीर सौजन्य: घनश्याम खड्का

मर्मतसम्भारमा ध्यान नदिदाँ म्याग्दीको सदरमुकाम बेनी जोड्ने बेनी नगरपालिका–८ कालीपुलस्थित पक्की पुल जोखिममा परेको छ । कालीगण्डकी नदीको निरन्तर कटानका कारण पुलको पिलर नै नदी कटानले जीर्ण भएको छ । सडक विभागले २०६२ मा पर्वतको मल्लाज र म्याग्दी सदरमुकाम बेनी जोड्न कालीगण्डकी नदीमाथि ७२ मिटर लामो मोटरपुल निर्माण गरेको थियो ।

गण्डकी प्रदेशको लाइफलाइन बेनी–जोमसोम– कोरला सडकखण्ड अन्तरगत पर्ने पुरानो पक्की पुलको पिल्लर नै जोखिममा पर्दा समेत सम्बन्धित सरकारी निकाय तथा जिल्लाका सरोकारवालाले समेत चासो देखाएका छैनन् ।

उत्तरी क्षेत्रमा निर्माणधिन अवस्थामा रहेको बेनी जोमसोम सडकखण्डबाट नदीमा खसालिएको ठुला ढुंगा कालिगण्डकीमा बगेर आउँदा पुलको पिलर फुटेर जीर्ण भएको भएपछि केहीबर्ष अगाडी फलामे पाताले बाँधेर संरक्षण गरिएपनि थप क्षतीको बारेमा पूर्वाधारको क्षेत्रमा काम गर्ने निकाय नै बेखवर छ ।

करिव २४ घण्टै सवारीसाधन आवतजावत गर्ने पक्की पुलमा साना मालबाहक ट्रक आवतजावत गर्दा समेत हल्लिन्छ । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका दर्जनभन्दा बढी जलविद्युत, कालिगण्डकी प्रसारण लाइनमा आवश्यक पर्ने ट्रान्सफर्मर सहितका हेभी इक्यूमेन्ट ल्याउँदा समेत पुल थप जोखिममा परेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘हामीले सम्बन्धित निकायलाई जानकारी गराएका छौ,‘पछिल्लो समय सवारी चाप धेरै छ,‘बर्खाको समय अगाडी नै मर्मतमा ध्यान दिनुपर्छ’ अध्यक्ष कटुवालले भने । पुल निर्माण तथा डिजाईन गर्दा तोकिएको भारवहन क्षमताका बारेमा प्रष्ट उल्लेख छैन् ।

यता कालीगण्डकी करिडोर मालढुंगा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले सडक विस्तारको काम गरिरहेको भए पनि उक्त पुरानो पुल हस्तान्तरण नभएको आयोजना प्रमुख जगत प्रजापतिले बताए । यसैबीच जिल्लाभित्र निर्मित पुराना र प्रयोगमा रहेका बेलिब्रिज समेत जिर्ण भएका छन् । हाल बेनी–जोमसोम सडकखण्डमा पक्की पुल सम्पन्न भएपछि अलपत्र परेका बेलिब्रिज स्थानान्तरका लागि समेत समस्या भइरहेको छ ।
तस्वीर सौजन्य: घनश्याम खड्का

 

Leave a Reply