म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा भएको चौधौ अधिबेशन (गाउँसभा)बाट चालु आर्थिक बर्षका लागि थप रु. दुई करोड ६५ लाख १२ हजार बजेट बिनियोजन गरेको छ । गत असारमा भएको गाउँसभाबाट रु. ४३ करोड ३० लाख बजेट बिनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक बर्ष २०७७÷७८ मा खर्च हुन बाँकी सो बजेटलाई वडा स्तरका ३३ र पालिका स्तरका ३० वटा योजना तथा कार्यक्रमका लागि बाँडफाड गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले आठ वटा वडामा रु. १२÷१२ लाखका दरले बजेट थप गरिएको र बाँकी रु. एक करोड ६९ लाख पन्ध्र हजार अधुरा योजनालाई पुर्णता दिन, साझेदारीका र वडाबाट सिफारिस भएका योजनाहरुलाई बिनियोजन गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गर्नुभएको अघिल्लो गाउँसभाबाट पारित भएका केही योजनाको नाम र बजेट संसोधन गर्ने प्रस्ताब पनि छलफल पछि पारित भएको छ ।

१३ औ गाउँसभाबाट १३० वटा योजना तथा कार्यक्रम छनौट भएकामा ३३ वटा सम्झौता र एक वटा सम्पन्न भएका छन् । पँुजिगत शिर्षकमा रु. दश करोड ९९ लाख ४० हजार बिनियोजन भएकोमा हालसम्म रु. ६१ लाख ३६ हजार ५८२ अथवा पाँच दशमलब ५८ प्रतिशत खर्च भएको उपाध्यक्ष मगरले जानकारी गराउनुभयो । चालुतर्फ रु. ३२ करोड ३० लाख ६० हजार बिनियोजन भएकोमा ३१.२५ प्रतिशत अथवा रु. दश करोड नौ लाख ६४ हजार १३३ खर्च भएको छ ।

बिपद् कोषमा रु. एक करोड बिनियोजन भएकोमा रु. २४ लाख छ हजार ४९९ खर्च भएको छ । बार्षिक रु. ९० लाख चालिस हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकोमा रु. १५ लाख संकलन भएको उपाध्यक्ष मगरले बताउनुभयो । अध्यक्ष पुनले बर्खा, राजनीतिक दलहरुको अधिबेशन, कोरोनाको जोखिमका कारण प्रभाबित भएका योजना कार्यान्वयनलाई तिब्रता दिन कर्मचारी र जनप्रतिनिधीहरुलाई निर्देशन दिनुभयो ।

उपभोक्ताको सहजता र सुबिधाका लागि रु. तीन लाख भन्दा कम बजेट बिनियोजन योजना तथा कार्यक्रमको सम्झौता वडाबाटै गर्ने ब्यवस्था मिलाएको बताउनुभयो । नयाँ थपिएका आयोजनाहरुमा नारच्याङको प्रभा माबिको छात्रावास भवनका लागि रु. बीस लाख, दोवाको होजियारी भवन निर्माणका लागि रु. दश लाख, घार दलित बस्ती भवन निर्माणका लागि रु. दश लाख, राम्चे घोडेपानी सडक निर्माणका लागि रु. दश लाख, बाख्रापालन कार्यक्रमका लागि रु. सात लाख र झोलुङ्गे पुल निर्माणका लागि साझेदारी गर्न रु बीस लाख १२ हजार बिनियोजन भएको छ ।

गाउँसभा शुरुहुनुअघि जनप्रतिनिधी, कर्मचारी र समाचार संकलनका लागि गएका पत्रकारहरुको एन्टिजेन बिधिबाट कोरोनाको परिक्षण गरिएको थियो । ९ जना गाउँसभा सदस्यहरु र दुई जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताउनुभयो । संक्रमित जनप्रतिनिधी र कर्मचारीहरुलाई आइसोलेशनमा पठाइएको थियो । उहाँहरु सभामा सहभागी हुनुभएन् । कोरोना जोखिमका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सभा सञ्चालन गरिएको कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

Leave a Reply